अलपत्र नेपाली कामदारको उद्धार

२०७३ कार्तिक ४ गते, बिहीबार

काठमाडौँ, ४ कात्तिक । फोकस नेपाल ओभरसिज प्रा.लि.ले कुवेतमा तलब नपाएर अलपत्र परेका १५ नेपाली कामदारलाई उद्धारगरी नेपाल ल्याएको छ । ती कामदार फोकस नेपाल प्रा.लि.बाटै कुवेतस्थित रोजगारदाता कम्पनी खलिफा दुअ‍ैज अल डाबोस एण्ड ब्रदर्शका लागि सन् २०१५ जनवरीमा त्यसतर्फ गएका थिए । उद्धार गरी नेपाल ल्याइएका कामदारहरुमा अनिल चौधरी, दिलबहादुर कुमाल, गणेशदास तत्मा, गंगाबहादुर रोका मगर, जवाहर यादव, कृष्णलाल खवास, मनोज महतो, पोमाल प्रसाद राजबंशी, प्रकाश धमला, सन्तकुमार दनुवार, सार्जन चौधरी, शंकरकुमार दनुवार, सविनकुमार खवास, उमेस पासवान र मन बहादुर तामाङ रहेका छन् । सो कम्पनीमा फोकस नेपाल ओभरसिजबाट २२ जना नेपाली कामदार गएका थिए । उनीहरु गएको चार महिनापछि २२ जना मध्ये ६ जनालाई वर्कपरमिट दिइएको थियो भने १६ जनालाई विभिन्न बहानामा कम्पनीले झुलाउँदै आएको थियो ।
म्यानपावर कम्पनीका सञ्चालक इन्द्र थापा आफैँ कुवेत पुगेर आफ्नो कम्पनीले पठाएका कामदारको उद्धार गरी नेपाल ल्याएका हुन् । उनका अनुसार नेपाली दूतावासको सक्रियता र सहकार्यमा कामदारहरुको बाँकी तलव र सुविधा भुक्तान गर्न लगाई कामदार फिर्ता ल्याइएको हो । फोकस नेपालले अलपत्र अवस्थामा रहेका कामदार उद्धारमा तत्परता र सक्रियता देखाएको भन्दै कुवेतस्थित नेपाली राजदूत, दूतावास र कर्मचारीप्रति आभार प्रकट गरेको छ ।
म्यानपावर कम्पनीका सञ्चालक थापाले पिडित कामदारहरुलाई कुवेतमा बस्दा दैनिक उपभोग्य सामाग्रीको अभाव नहोस् भनी खाद्यान्न लगायत रासनपानी उपलब्ध गराएका थिए । दूतावासका तर्फबाट कार्यवाहक राजदूत यज्ञबहादुर हमालसहित द्वितीय सचिव भोगेन्द्र लिङ्देनले निरन्तर सहयोग गरेकोले आफूहरु स्वदेश फर्किन पाएको कामदार मन तामाङले बताए ।
सो कम्पनीमा रहेका थप चार नेपाली कामदार पनि नेपाल आउने तयारीमा छन् । तीन जना भने राजीखुशीले सोही कम्पनीमा कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु