अर्को जनआन्दोलनको आवश्यकता

२०७६ बैशाख १५ गते, आईतवार

१० वर्षे जनयुद्ध र २०६२।६३ को १९ दिने जनआन्दोलनबाट प्राप्त लोकतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको छ । तर जनताले व्यवहारिक रुपमा लोकतन्त्रको उपयोग गर्न पाएका छैनन् । लोकतन्त्र स्थापना पछि सत्तामा पुगेका संसदवादी राजनीतिक दलका कमजोरी कै कारण यस्तो स्थिति आएको हो । लोकतन्त्र स्थापनापछि सत्तामा पुगेका दल र नेताहरुले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्म भुलेकै कारण यस्तो स्थिति आएको आम सचेत नागरिकको बुझाई छ । लोकतन्त्र स्थापना पछि देशमा शान्ति सुव्यवस्था कायम हुन्छ र जनताको जीवनस्तर कायापलट हुन्छ भन्ने आम जनताको सोचाइमा यतिबेला तुसारापात हुन पुगेको छ । लोकतन्त्रको स्थापनापछि देशमा वैदेशिक हस्तक्षेप दिनप्रतिदिन बढि रहेको छ । जनताको जनजीवन दिनप्रतिदिन नाजुक हुँदै गएको छ । सत्तासिन दलका नेताहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुब्न पुगेका छन् । प्रहरी, प्रशासन र शान्ति सुव्यवस्था लथालिङ्ग भएको छ, भ्रष्टाचार र कमिशन तन्त्र मौलाउँदै गएको छ । महंगी र कालोबजारीले सीमा नाघेको छ । राष्ट्रघात र जनघात मौलाउँदै गएको छ । हिजोका देशभक्त र क्रान्तिकारी मानिएका र ठानिएका दल र नेताहरु यतिबेला राष्ट्रघाति र जनघातिको रुपमा चित्रित हुन थालेका छन् ।
संसदवादी राजनीतिक दलहरुको यही रवैयाले आम नेपाली जनता आजित भएका छन् । संसदवादी राजनीतिक दलका कारण देशमा लोकतन्त्र असफल देखिएको छ र जनता लोकतन्त्रको विकल्पको खोजीमा लागेका छन् । यस्तो अवस्थामा राष्ट्र, राष्ट्रियतालाई जोगाउन एउटा राजनीति शक्ति आवश्यक भएको आम सचेत जनताको बुझाई छ । जनताको यही भावनालाई बुझेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो र उसले देशलाई वर्तमान संकटबाट मुक्त पार्न एकीकृत जनक्रान्तिको कार्य दिशा लिएर अगाडि बढेको छ । देशको तमाम वेथितिको स्वरुपमा हेर्दा त्यसलाई नामेट पार्न अब विप्लव नेतृत्वको ने.क.पा.ले मात्र सम्भव देखिन्छ किनकी वर्तमान संसद्वादी दलहरुको कार्यशैलीले देश झन संकटग्रस्त बन्दै गएको छ भने जनजीवीका चौपट हुँदै गएको छ । यस्तो अवस्थामा देश र जनताको पक्षमा संघर्ष गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीलाई साथ दिनुको कुनै विकल्प छैन । त्यसैले देशलाई वर्तमान संकटबाट पार लगाउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सबैले साथ र सहयोग दिँदै राष्ट्रघाति र जनघाति तत्वहरुलाई तह लगाउनै पर्छ अन्यथा राष्ट्र, राष्ट्रियता संकटमा पर्ने निश्चित छ । राष्ट्र नै नरहे हाम्रो अस्तित्व कहाँ रहला ? आम सचेत नागरिकले सोच्नुपर्ने समय आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु