अमेरिका र तालिबान विद्रोहीबीच ‘सहमति’

२०७६ भाद्र १७ गते, मंगलवार

काठमाडाैँ, १७ भदाै । अमेरिका र अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान विद्रोहीबीच सहमति भएको छ ।तालिबानसँगको वार्तामा सहभागी एकजना अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले दुई पक्षबीच सैद्धान्तिक सहमति बनेको दाबी गरेका छन् । सहमतिअनुसार अमेरिकाले आउँदो २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजानुपर्नेछ । अफगानिस्तनमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् ।
अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले टेलिभिजन अन्तर्वार्ताकाक्रममा सहमतिबारे विस्तृतमा बताएका हुन् ।तर, सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी छ ।
खलिलजादले सहमतिबारे बताइरहेका बेला अफगानिस्तानमा भने ठूलो विस्फोट भएको छ । काबुलमा भएको विस्फोटमा परी कम्तीमा पाँचजना सर्वसाधारणको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा तालिबानले लिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु