अमेरिका ‘राजनीतिक भाइरस’बाट संक्रमित !

२०७७ जेष्ठ १२ गते, सोमबार

काठमाडौँ , १२ जेठ । चीनका विदेश मन्त्री वाङ्ग यीले अमेरिका ‘राजनीतिक भाइरस’बाट संक्रमित भएको टिप्पणी गरेका छन। उनले
कोरोना भाइरसलाई लिएर अमेरिकाले विश्वभर षड्यन्त्र तथा झुट फैलाइरहेको आरोप लगाउदै सो टिप्पणी गरेका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित भएको टिप्पणी गर्दै अमेरिकालाई समय बर्बाद नगर्न सुझाव दिए ।
कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी नहुँदा अमेरिकामा धेरै अमूल्य जीवनहरु गएकाले त्यस तर्फ ध्यान दिन विदेशमन्त्री वाङको आग्रह थियो । उनले अमेरिकाका केही राजनीतिज्ञ अमेरिका–चीन सम्बन्ध खराब बनाउन लागि परेको आरोप पनि लगाए ।
कोरोना महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको आलोचना गर्दै आएका छन् । उनले चीनले सूचना लुकाएको तथा बेलैमा उपयुक्त कदम नचालेका कारण अहिलेको अवस्था आएको आरोप लगाएका छन् । चीनले ती सबै आरोप अस्वीकार गर्दै आएको छ ।
आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक नेता जो बाइडेनको सामना गर्न लागिरहेका ट्रम्पले अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न नसकेको आलोचना खेपिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु