अमेरिकाविरूद्ध ‘व्यापार युद्ध’को चेतावनी

२०७५ जेष्ठ २० गते, आईतवार

काठमाडौं, २० जेठ । अमेरिकाले गरेकाे स्टील र अाल्मुनियममा कर लगाउने निर्णयप्रति औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’का सदस्य राष्ट्रहरू क्रुद्ध बनेका छन् । जी सेभेन मुलुक अर्थमन्त्रीहरूले उक्त अमेरिकी निर्ययकाे कडा आलोचना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो । क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने फ्रान्सले केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको थियो । तर ट्विटरमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो देशलाई वर्षौँदेखि अरू देशहरूले व्यापारमा शोषण गरिरहेको उल्लेख गरेका छन्। ट्रम्पले उक्त करले अमेरिकी स्टील उत्पादकहरूको संरक्षण गर्ने उल्लेख गर्दै त्यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताए। उनले अमेरिकी फर्महरूले युरोप र अन्यत्र भोग्ने अवरोधहरूबारे पनि गुनासो गर्दै अब चलाख हुनुपर्ने समय आएको उल्लेख गरे। तर अमेरिकी अर्थमन्त्रीले संयुक्त राज्य अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व नछाडेको भन्दै उनले अरू देशका चिन्ताहरू राष्ट्रपति ट्रम्पसमक्ष पुर्याएको बताएका छन्। बिहीबार मात्रै अमेरिकी वाणिज्यमन्त्रीले स्टीलमा २५ प्रतिशत र अाल्मुनियम १० प्रतिशत कर बढाउने निर्णय कार्यन्वयनमा आएको बताएका थिए।
हाल अमेरिकाका उत्पादनसम्बन्धी उद्योग निर्माण र तेल उद्योगमा तिनीहरूलाई कच्चा सामग्रीका रूपमा प्रयोग गरिन्छ। इयु क्यानडा र मेक्सिकोले अघिल्लो वर्ष झण्डै २३ अर्ब डलर मूल्य बराबरका स्टील र अाल्मुनियम अमेरिकामा निर्यात गरेका थिए। अघिल्लो वर्षको कुल ४८ अर्ब डलरको स्टील र अाल्मुनियम आयातको उक्त परिमाण लगभग आधा हो। ट्रम्प प्रशासनको निर्णयको इयु, क्यानडा र मेक्सिकोले आलोचना गर्दै आफूहरूले पनि त्यसरी नै शुल्क बढाउने घोषणा गरेका छन्। कतिपय रिपब्लिकन नेताले पनि उक्त कदमको आलोचना गरेका छन्। -बिबिसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु