अमेरिकाले शरणार्थी सहायतामा कटौती गर्ने

२०७६ भाद्र २१ गते, शनिबार

काठमाडौं, २१ भदौ । अमेरिकाले शरणार्थीहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी गरेको छ ।
अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीविरुद्ध कडा कदम चाल्ने बताउँदै आएका थिए । उनले आप्रवासी र शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने भन्दै मेक्सिकोको सिमामा पर्खाल लगाउने बताउँदै आएका थिए ।
राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थीहरुको संख्यासमेत घटाएको मानवअधिकार सम्बन्धी सल्लाहकार र राष्ट्रिय सुरक्षा विज्ञहरुले बताएका छन् । गत वर्ष ३० हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिइएको थियो । अघिल्लो वर्ष ४५ हजार शरणार्थीले अमेरिका प्रवेश पाएका थिए । सन् २०१७ मा पदभार ग्रहण गरेलगत्तै ट्रम्पले मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यसको सर्वत्र आलोचनासमेत भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु