अमेरिकामा सरकारी कामकाज ठप्प

२०७४ माघ ८ गते, सोमबार

काठमाडौं, ८ माघ । अमेरिकी सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि ठप्प भएको सरकारी कामकाजबाट लाखौं संघीय कर्मचारी आजबाट काममा जानबाट बन्चित हुने भएका छन् । सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो । कार्यालय खुल्ने समय अघि आइतबार अबेरसम्म अवरोध खुलाउने प्रयास भए पनि सफल हुन सकेन ।
अमेरिकी संघीय निकायका कर्मचारी बेतलवी बिदामा बस्न बाध्य हुनेछन् । सत्तारुढ र डेमोक्रेट सिनेटरहरुले एक अर्कोमाथि दोष लगाएका छन् । संघीय निकायहरुलाई रकम उपलब्ध गराउनेसम्बन्धी विधेयक सीनेटले अस्वीकृत गरेपछि कामकाज नै ठप्प भएको हो ।
ह्वाइट हाउस र कंग्रेसमा एउटै पार्टी रिपब्लिकनको नियन्त्रण रहँदा पनि सरकारी कामकाज ठप्प भएको यो पहिलो घटना हो । यस अघि सन् २०१३ मा यस्तो स्थिति १६ दिनसम्म रहेको थियो ।
विधेयक पारित गर्न आवश्यक ६० मत जुटाउन नसक्दा दुबै सदनमा रहेको बहुमत पनि सरकारका लागि काम लागेन । अर्को महिनासम्म संघीय निकायहरुलाई खर्च उपलब्ध गराउने विधेयक पारित गराउन रिपब्लिकनलाई डेमोक्र्याटहरुको पनि समर्थन आवश्यक थियो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभबाट १९७ का विरुद्ध २३० मतले पारित विधेयक सीनेटमा भने एक मतले विफल भएको हो । विपक्षमा ५० मत आउँदा पक्षमा ४९ मत मात्र परेको थियो । पाँच डेमोक्र्याट सांसदले समर्थन गर्दा स्वयं ट्रम्पकै पार्टी रिपब्लिकनका पाँचै जना सांसद विपक्षमा उभिए ।- एजेन्सी

प्रतिक्रियाहरु