अमेरिकामा अश्वेत विद्रोह र क्रान्तिको माग – विष्णु पन्त

२०७७ जेष्ठ २० गते, मंगलवार

१.अमेरिकाको अवस्था विष्फोटक बन्दै
अमेरिकाको मिन्नेसोटामा जर्ज फ्लोईडस नामका एकजना अश्वेत नागरिकको प्रहरीद्धारा घाँटी थिचेर गरिएको अमानविय, पाशविक र हिंसात्मक हत्याको विरुद्ध आज अमेरिका जलिरहेको छ । अमेरिकाका ४० भन्दा बढि ठूला सहरहरुमा कफ्र्युको घोषणा गरिएको छ तर विद्रोह झन दन्कीरहेको छ । हामीलाई थाहा छ, अमेरिकामा कालाहरु माथि वर्वर अन्याय र उत्पीडन र थिचोमिचो गरिन्छ । श्वेत र अश्वेतको विभाजनले अमेरिकी समाज लामो समयदेखि आक्रान्त छ । कुनै समय कालो वर्णका नागरिकहरुलाई पशुजस्तै व्यवहार गरिन्थ्यो, आज पनि त्यसको प्रभाव कायम छ । जर्ज फ्लोइड्सको नृशंश र आततायी हत्याका विरुद्ध राष्ट्रपति ट्रम्प मनोरञ्जन लिएर बसे । नियन्त्रणमा रहेका एक युवाको प्रहरीद्धारा नै घाँटी थिचीथिची हत्या गर्ने सम्मको काम गरियो । “मेरो श्वास जानै लाग्यो, घाँटी थिच्न छाडीदेउ” भन्दै रोदन गरेको चीत्कारले श्वेत प्रहरीलाई छोएन र अन्तत्वगत्वा उनको मृत्यु भयो । त्यही घटनाको विरोधमा आज अमेरिका विष्फोट हुँदैछ ।
आज अमेरिकामा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त सामान्य बनेको छ । लुटपाट, आगजनी, तोडफोड र हिंसा सामान्य बनेको छ । सबैलाई थाहा छ, अमेरिकामा न्याय हैन अन्याय छ, समानता हैन असमानता छ । अमेरिकामा शोषण, उत्पीडनको ज्वारभाटाले थिचेको छ । अमेरिका आज मुट्ठीभर खर्बपतिहरुको पञ्जामा छ र गोरा वा श्वेतहरुको मुट्ठीमा छ । राज्यले नै कालाहरुमाथि अपमान गरेको छ । अहिलेको घटना केहि दिन, महिना र वर्षको हैन, वर्षौंदेखि विद्यमान उत्पीडन र विभेद एकैचोटी ज्वारभाटा बनेर विष्फोट भएको हो । सारा संसारले स्पष्ट देख्नेगरी जनआक्रोश विष्फोट भएको हो । आज जनआक्रोश देशव्यापी बनेको छ र यो अझै बढ्ने अवस्थामा छ । संसारकै शक्तिशाली भनिने अमेरिका आज शीर निहुराएर बसेको छ । यो हिंसा भड्कीदो छ र राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिले जनआक्रोशलाई झनै भड्काउँदै छ । उनले यो प्रदर्शनलाई आतंककारी संगठन वा प्रतिबन्धित एउटा वाम संगठन एन्टीफासिस्ट मुभमेन्ट ‘एन्टिफा’ नामको प्रतिबन्धित वामपन्थी संगठनलाई आरोपित गरेका छन । यसबाट प्रष्ट हुन्छ, राष्ट्रपति ट्रम्प कतिसम्म असन्तुलित र पागल छन् । अनि उनी कतिसम्म दुनियालाई ढाँट्न सक्छन । शायद राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरुमाथि दमन गर्नका लागी वा ठूलो आमनरसंहार मच्चाउनका लागी यस्तो षडयन्त्र गर्दैछन् ।
२.ट्रम्प आतंककारी हुन् – प्रदर्शनकारी
हामीले संचार माध्यमबाट प्रदर्शनकारीहरुका आक्रोश, नारा र प्लेकार्ड हेरेका छौं, जहाँ भनिएको छ – आतंककारी डोनाल्ड ट्रम्प । उनीहरुले भनेका छन् आतंककारी त डोनाल्ड ट्रम्प हुन् र उनले नै अमेरिकाभर आतंक मच्चाईरहेका छन । राष्ट्रपति ट्रम्पसँग कुनै मानविय संवेदना छैन् भन्ने कुराको तथ्य हिजो मात्रै ह्वाइट हाउस वा राष्ट्रपति भवन घेर्न गएका प्रदर्शनकारीलाई भड्काउने गरी भनेका थिए ‘क्रुद्द कुकुर’ । जब राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरुलाई ‘एन्टीफा’सँंग आवद्ध रहेको आरोप लगाए तब प्रदर्शनकारीहरुले आतंककारी ट्रम्पको प्रत्यारोप गरे । उनिहरुले प्लेकार्डमा ‘टेरोरीस्ट ट्रम्प’ लेखेर प्रदर्शन गरे । प्रदर्शनकारीहरुले थुप्रै गाडीहरुमा आगजनी गरेका छन् । प्रदर्शन आक्रामक बन्दै जाँदा प्रहरीसँग दोहोरो भिडन्त भईरहेको छ । कतिपय स्थानमा प्रहरी अधिकृतहरु पनि प्रदर्शनमा उत्रिएका छन ।
३.जब राष्ट्रपति डोनाल्ड ट्रम्प नै बंकरभित्र पुगे
शुक्रबार जब प्रदर्शनकारीहरु राष्ट्रपति भवन बाहिर उग्र रुपमा प्रदर्शन गरीरहेका थिए, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने सुरक्षाकर्मी र सेनाद्धारा बंकरभित्र राखिएको समाचारहरु बाहिर आएका छन् । वास्तवमा यो राष्ट्रपति ट्रम्पका लागी निकै लज्जाजनक दिन हो । सायद बुद्धिमान र संवेदशील राष्ट्रपति भएको भए उनले आफ्नो कार्यकालमा भएको जर्ज फ्लोइड्सको अमानविय हत्याका लागी माफी माग्न सक्नुपथ्र्यो । उनले आफूले अमेरिकी कालाजातीहरुमाथि भइरहेको भेदभावका विरुद्द केहि गर्न नसकेको भन्दै माफी माग्नुपर्दथ्यो । उनले भन्न सक्नुपर्दथ्यो–“यो लडाई श्वेत र अश्वेत वीचको लडाई हैन, यो त न्यायका लागी र मानविय अधिकारका लागी भएको लडाई हो ।” तर अफ्शोच राष्ट्रपति ट्रम्पमा त्यो हिम्मत, साहस र नैतिकता थिएन । उनले त उल्टो दमन र नरसंहार गर्ने बहाना र षडयन्त्रको खोजी गरे ।
आज अरुलाई प्रजातन्त्र र मानवअधिकारको पाठ पढाउने अमेरिका आफै उदाङ्गीएको छ । स्थिति विष्फोटक बन्दैछ र आक्रोशहरु शान्त हुने अवश्था छैन । कफ्र्यू र निषेधाज्ञालाई जनताले अवज्ञा गरेका छन् । अमेरिका जलीरहेको छ, विष्फोट भईरहेको छ तर संहाल्ने विवेक भने नेतृत्वसँग छैन् । नेतृत्वमा रहेका ट्रम्प त उल्टो प्रदर्शनकारी जनतालाई गाली गर्दै र आतंककारी भन्दै झनै आगोमा घिउ थपीरहेका छन् । प्रदर्शनकारीहरुको आक्रोश र विद्रोहलाई जब राष्ट्रपति ट्रम्पले देखे, उनि अत्तालीएर त्यहाँभित्रको बंकरभित्र घुसे ।
४.ट्रम्पका विरुद्द विद्रोह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनआक्रोशलाई शुरुदेखि नै नजरअन्दाज गरे । शुरुमा प्रदर्शन शान्तिपुर्ण र शालिन ढंगले भएका थिए । जब राष्ट्रपति ट्रम्प यो घटनाप्रति वेखबर जस्तै बसे र उल्टो दमनको बाटो रोजे तब जनआक्रोश ज्वालामुखी बन्यो । आज अमेरिका अग्नीकुण्डमा परिणत भएको छ । स्पष्टै छ, अमेरिकामा अश्वेतहरु शिकार बनेका छन । हालै आएको कोरोना माहामारीबाट शिकार हुनेहरु पनि धेरै कालाजाती वा अश्वेत परे । वास्तवमा ट्रम्पको मुर्खता, उद्घण्डता, अहंकार र फासीवादी चरित्रका कारण जनआक्रोश विष्फोटक बनेको सहजै बुझ्न सकिन्छ ।
५.प्रदर्शनमा प्रहरी र सेनाको पनि सहभागिता
जब अमेरिकामा भड्किएको जनआक्रोश विद्रोहमा परिणत भयो तव यो भावना देशव्यापी बन्यो । यो कालाजातीको जीवनको सबाल बन्यो । वास्तवमा यो प्रदर्शन अन्याय, अत्याचारका विरुद्व र न्यायको पक्षमा भएको भन्ने जनमत सिर्जना भएको छ । प्रदर्शनमा अश्वेत मात्र छैनन्, श्वेतहरु पनि सहभागी छन् । रमाईलो दृश्य त के छ भने कतिपय राज्यमा प्रहरी, सेना वा सुरक्षाकर्मीहरु पनि घोषित रुपमा नै यो प्रदर्शनमा सहभागी बनेका छन् । बर्दीका प्रहरी र सेनाले नै सार्वजनिक रुपमा नै सम्बोधन र समर्थन गरेका छन् । पछिल्ला घटनालाई हेर्दा आन्दोलन रङ्गभेद विरोधी क्रान्तीमा परिणत हुन सक्ने देखिन्छ ।
६.अमेरिकामा अत्याचार, शोषण र उत्पीडनको पहाड छ
केहिबर्ष अगाडिदेखि अमेरिकामा ‘वालस्ट्रेट मुभमेन्ट’ जारी छ । यो आज्दोलनको आशय हो–“अमेरिकामा ९९ प्रतिशतका विरुद्व १ प्रतिशतको सत्ता छ ।” भनिन्छ अमेरिका केवल खर्बपतिहरुको देश हो । त्यहाँ सांसद, मन्त्रीदेखी राष्ट्रपति हुनका लागी खर्बपति वा व्यापारी हुनु अनिवार्य छ । भनिन्छ अमेरिकाका १ प्रतिशत धनाड्यसँग ९९ प्रतिशत आम नागरिकसँग भन्दा धेरै सम्पत्ति छ । अक्सफामको एक सर्वेक्षणलाई आधार मान्ने हो भने विश्वका शीर्ष १ प्रतिशत धनाड्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएको भन्दा दोब्बर सम्पत्ति रहेको छ । त्यसकारण अमेरिकामा दुई प्रकारका ठुला उत्पीडन छन् – पहिलो श्वेतहरुको कालाहरुमाथिको उत्पीडन वा अर्को शब्दमा रङ्गभेदी उत्पीडन र दोस्रो धनी र गरीबबीचको उत्पीडन । सारमा भन्दा अमेरिका धनी र श्वेतहरुको सत्तामा परिणत भएको छ । त्यसकारण प्रदर्शनकारीहरुले नारा लगाएका छन्–‘जहाँ अन्याय हुन्छ, त्यहाँ शान्ति हुदैन्’ भनेका छन, ‘नो जस्टीस नो पीस ।’ उनीहरुले स्पष्ट भनेका छन्–यसपटक अमेरिकी अर्थतन्त्रको कट्टु फुस्कीएको छ । हामीलाई थाहा छ, अमेरिका पँुजिवादको विकृत रुप साम्राज्यवाद हुँदै उत्तर साम्रान्यवादमा पतन भएको छ । संसारभर उसले गरेका नरसंहारवाट प्रष्टै भन्न सकिन्छ, उभन्दा अमानविय, क्रुर र अलोकतान्त्रीक अर्को कुनै व्यवस्था छैन् । पछिल्लो पटक धेरैले भनेका छन्– अमानवियता र क्रुरताका कारण अमेरिकाको पतन हँुदैछ । अमेरिकासँगै पुँजिवादको पनि पतन हुँदैछ । शोषण गर्नु, नाफा कमाउनु र भेदभाव गर्नुलाई पुँजीवादले मानव अधिकार ठान्छ । अब विस्तारै मानवियताको मुद्दा सार्वभौम बन्दैछ । समानता र स्वतन्त्रताको मुद्दा सबैले खोज्न थालेका छन् । आज वास्तविक स्वतन्त्रता र समानताको मुद्दा जीवन्त बनेको छ । शायद अमेरिकामा अहिले देखिएको जनआक्रोशका पछाडी मुख्य तीनवटा कारण जोडिएका छन् ः १.रङ्गभेद वा कालाजातीमाथिको अन्याय र भेदभाव, २.गरीब र मध्यम वर्गमाथि धनीहरुको शोषण र ३.राष्ट्रपति ट्रम्पको विवेकहिन र अमानविय प्रतिक्रिया । आज चीन, इरान, उत्तरकोरीया, भेनेजुयला र क्युवालाई थर्काए जस्तो सजिलो छैन् । जब आम अमेरिकीहरु ट्रम्पको विरुद्व विद्रोहमा उत्रीए, उनलाई नै जीवनको सुरक्षा गर्ने विषय चुनौतिपूर्णं बन्यो । वास्तवमा अमेरिकाभर फैलिएको यो हिंसा कहाँसम्म पुगेर मत्थर होला, त्यो त यसै भन्न सकिँदैन् । हामी चाहान्छौं अमेरिकी सत्ताले घटनाको बारेमा ठण्डा दिमागले विश्लेषण गरेर सही समाधान निकालोस् । पछिल्ला घटनाक्रमबाट स्पष्ट हुन्छ कि अबको अमेरिकामा डोनाल्ड ट्रम्पले नेतृत्व गर्ने सम्भावनाको अन्त्य भएको छ ।
७.साम्रज्यवादी अहंकारले विद्रोहलाई आतंककारी र अपराधिक ठान्छ
हामीले इतिहासबाट देखेका छौं सबै निरंकुश र फासीवादी शाशकहरुले जनताको स्वतः स्फुर्त विद्रोहलाई आतंककारी वा अपराधिक देख्दछन् । विद्रोह जनताको नैसर्गिक अधिकार हो भनेर अमेरिका स्वीकार गर्न सक्ने अवस्थामा छैन् । जहाँ दमन, उत्पीडन, शोषण र अन्याय हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । भेदभाव सहनु पनि अपराध हो । अहिले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रदर्शनकारी जनतालाई लगाएको आरोप गम्भीर छ । उनले हिंसात्मक विद्रोहलार्ई ‘एन्टीफा’ वा प्रतिवन्धीत वामपन्थी संगठनको उपद्र भनेर आरोपित गरेका छन् । उनले यो प्रदर्शनलाई आतंककारीको आरोप लगाउन खोजेका छन्, यो आरोपले ट्रम्पको फासीवाद वा नरसंहार तर्फको यात्रालाई इंगीत गर्दछ । के दमनबाट यी विद्रोह साम्य होला ? प्रष्ट छ, यदि दमन बढ्यो भने अमेरिका गृहयुद्घमा अनिवार्य जानेछ ।
८.दमन र नरसंहार भए अमेरिकामा गृहयुद्घ
यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दमन र नरसंहारको बाटो लिएमा अमेरिका लामो गृहयुद्घमा फस्ने खतरा बढ्दै छ, जुन संसारकै लागी दुःखद र पीडादायी पनि बन्न सक्छ । त्यहाँ रङ्गभेद वा श्वेत र अश्वेतवीचको गृहयुद्घ बढेमा अमेरिका ध्वस्त हुने निश्चित छ । त्यसले अमेरिकाभित्र मात्र हैन् बाहिर पनि जातिय युद्घ अनि धार्मिक युद्घहरुलाई प्रोत्साहित र पुर्नबल प्रदान गर्नेछ । संसारभरी नै अतिवादी शक्तिहरु हावी हुँदै गरेको तस्वीर ताजै छ । भारतमा हिन्दुवादी नरेन्द्र मोदी, अमेरिकामा क्रिश्चियन र श्वेतवादी डोनाल्ड ट्रम्प जस्ता शासकहरु चर्चामा छन् । त्यसकारण यदि अमेरिकाले अहिले विद्रोहलाई सही ढंगले व्यवश्थापन गर्न सकेन भने त्यसले पुरै विश्वलाई तरङ्गीत गर्नेछ । साम्प्रदायीक हिंसा र युद्घहरु भड्किने खतरा हुनेछ । राष्ट्रपति ट्रम्प कतिसम्म संकिर्ण छन भने अहिले जारी हिंसात्मक प्रदर्शनलाई एउटा प्रतिवन्धित वाम संगठनलाई आरोपित गरेका छन् । उनी किन चीन, उत्तरकोरीया, क्युवा वा भेनेजुयला विरुद्व अन्धआक्रमणको नीति लिएका होलान् भन्ने कुरालाई सहजै बुझिन्छ । स्पष्टै छ, अमेरिकाले कुनै पनि कम्युनिष्ट शक्तिसँग मित्रतापुर्ण सम्बन्ध राख्न सक्दैन् । नेपालमा चीनका विरुद्व घेर्नका लागी कथित ओली नेतृत्वको सरकारी कम्युनिष्ट पार्टीलाई प्रयोग गरीरहेको छ । एमसिसिको माध्यमबाट कथित डबल नेकपालाई पनि फुटाउन सक्नेछ । ओली र दाहालको आत्मसर्मपणलाई केहि समय मात्र प्रयोग गर्नेछन् र मौका मिल्नासाथ फ्याँक्ने निश्चित छ । राष्ट्रवाद भनेको आत्मसर्मण हैन्, स्वाभिमान हो ।
९.ट्रम्पलाई प्रदर्शनकारीको जवाफ, हामीले हिंसा तिमीबाट सिकेका हौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै एकजना अगुवा नेत्रीले भनेकी छन–“आज काला नागरिक सरकार प्रति क्रुद्घ बनेका छन् ।” उनले भनेकी छन, “हाम्रो न्यायका लागी भएको शान्तिपुर्ण प्रदर्शनमाथि कसले हिंसा मच्चायो ? हामीमाथि कसले दमन गर्यो ? हामीलाई कसले आक्रमण गर्यो ?” हजारौं नागरिकको ताली र हुटिङ्गका साथ उनले भनेकी छन,–“हामीले हिंसा तिमीबाट सिकेका हौं । हामीलाई विद्रोह गर्न बाध्य बनाउने तिमी नै हौं । हामीले सबै अमेरिकी नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकार मागेका हौं ।” यसबाट थाहा हुन्छ, यो आम अमेरिकी जनताको आवाज हो । यो सवै उत्पीडनमा परेका अश्वेत नागरिकहरुको आवाज हो । उनले अगाडी भनेकी छन,“हामीलाई तिम्रो चेतावनी र धम्की चाहिएको हैन, हामीलाई न्याय चाहिएको हो । न्याय नपाउँदासम्म हामी पछाडी हट्ने छैनौं ।”
१०.सेना परिचालनको धम्की
छैठौं रातसम्म प्रदर्शनले झनपछि झनै उग्र र हिंसात्मक रुप लिएपछि प्रदर्शनको सातौं रात आज पनि प्रदर्शन जारी छ । राष्ट्रपति ट्रम्पले शान्तिका लागी आग्रह गरेका छन् । उनले भनेका छन–“हामीले सेना प्रयोग गरेरै भएपनि कानुन र विधिलाई स्थापित गर्नुपर्छ ।” उनले प्रहरी, नेशनल गार्ड र सेनासमेत प्रयोग गरीसकेका छन् ।
११.अमेरिकामा क्रान्तिको माग
वास्तवमा अहिले भएको जनविद्रोहले अमेरिकामा क्रान्तिको माग गरेको छ । सामान्य सुधार र प्रतिबद्घताबाट उत्पीडन, विभेद र असमानताको अन्त्य हुन सक्तैन । यद्यपी अहिलेको जनविद्रोहमा नेतृत्व, विचार र संगठित शक्तिको अभाव छ, क्रान्तिका लागी यी हतियार अपरिहार्य हुन्छन् । निश्चित छ, अमेरिकी सत्ताले यो विद्रोहलाई दबाउने छ तर यो विद्रोहले क्रान्तिको माग गरेको छ । एउटा क्रान्तिविना अमेरिकी अश्वेतहरुले न्याय, सम्मान र समानता पाउने छैनन् । यो अश्वेत विद्रोहले अमेरिकासहितको पँुजिवादलाई थ्रेट गरीरहेको छ । प्रदर्शनको सातौं रातमा पुग्दा राष्ट्रपति ट्रम्पले ह्वाईट हाउस छाडेर चर्चमा गएका छन्, यो त्रास हो । सेना परिचालनको प्रारम्भिक चरणमा पनि प्रदर्शन रोकिएका छैनन् । मान्छेहरुले प्रश्न गरीरहेका छन् कहिँ अमेरिका गृहयुद्घतिर धकेलिएको त छैन् ? परिस्थितिले अमेरिकामा आमुल परीवर्तन र क्रान्तिको माग गरेको छ तर वर्तमान रङ्गभेदी र उत्तरसाम्रज्यवादी सत्ताले यो तथ्यलाई बुझ्न सक्ने अवस्था छैन् ।

प्रतिक्रियाहरु