अमेरिकादवारा भारतसहितका मुलुकलाई दिइएको ‘ छुट’ समाप्त, इरानसँग तेल खरिद गर्न रोक

२०७६ बैशाख १० गते, मंगलवार

काठमाडाैं, १० वैशाख । अमेरिकाले इरानसँग तेल खरिद गर्नका लागि भारतसहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्दै आइरहेका मुलुकलाई अब उक्त सुविधा नथप्ने निर्णय गरेका हुन् । ह्वाइट हाउसका अनुसार भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल खरिद गर्न रोक लगाइएको हो ।
अमेरिकाले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध प्रभावकारी तुल्याउनका साथै इरानको निर्यात दर शून्यमा ल्याउनका लागि यो निर्णय गरिएको जनाएको छ । इरान सरकारको आयको मूख्य स्रोत समाप्त पार्न यस्तो निर्णय लिइएको ह्वाइट हाउसको जिकिर छ ।
गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान र ६ पश्चिमी मुलुकबीच भएको ऐतिहासिक परमाणु सम्झौताबाट अमेरिकालाई अलग गराएका थिए । सो घोषणा लगत्तै उनले इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु