अमेरिकाको ३ राज्यमा सङ्कटकाल

२०७५ भाद्र २८ गते, बिहीबार

काठमाडौं, २८ भदौ । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको छ । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको हो । करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना औंल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने अनुमान गरिएको छ ।
फ्लोरेन्स नामक सो आँधीले आउने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन राज्यमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकाका नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा सङ्कटकालको घोषण गरेका हुन् । आधीँले व्यापक असर पर्ने अनुमान गरिएको छ । यसबाट अकल्पनीय रूपमा धेरै धन जनको विनाश हुने अनुमान गरिएको छ । त्यसैले यी तीनै राज्यका विशेषतः सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब १७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ ।- एजेन्सी ।

प्रतिक्रियाहरु