अब म प्रधानमन्त्री : दाहाल

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा एमालेसँग भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले विहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखितरुपमा नभइ दुई पार्टीकाबीचमा ९ बुँदे सहमति हुँदा समझदारी भएको स्पस्ट पारे ।
यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै उनले अब बन्ने सरकार पनि राष्ट्रिय सहमतिको सरकार हुनेमा आफू विश्वस्त रहेको बताए । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी रहेको धारणा उनले राखे । अध्यक्ष दाहालले भूकम्प गएलगत्तै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले दह्रोसँग उभिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आफूले आग्रह गरेको भन्दै संविधान जारी हुँदासमेत आफूले राष्ट्रिय सहमतिमै जोड दिएको चर्चा गरे ।
एक प्रश्नमा उनले अहिले राष्ट्रिय सहमति आफ्नो पक्षमा जुट्न सहज भएको पनि बताए । माफी–मिनाहासम्बन्धी ऐन अन्तिम चरणमा पुगेको बताउँदै उनले द्वन्द्वकालीन मुद्दाहरु शान्ति प्रक्रियाअनुरुप टुंग्याउनुपर्ने बताए । सहमतिमै बजेट आउने बताउँदै उनले कार्यान्वयनपक्ष जटिल हुने गरी बजेट नआउने उल्लेख गरे ।
अदालतमा लिखित जवाफ पठाइने
अध्यक्ष दाहालले सर्वाेच्च अदालतमा शुक्रबार लिखित जवाफ पठाइने बताएका छन् । अदालतको मानहानिसम्बन्धी मुद्दामा उनलाई सर्वाेच्चले शुक्रबार (भोलि)सम्म जवाफ दिन आदेश गरेको विषयमा कुरा गर्दै अध्यक्ष दाहालले अदालतको आफूले सम्मान गर्ने बताउँदै आफैं जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने बताए ।
स्थानीय निर्वाचन सहमतिमा
अध्यक्ष दाहालले स्थानीय निकायको निर्वाचन दलहरुको बीचमा सहमति गरेर समयको टुंगो लगाइने बताए ।
उनले फागुनको अन्त्यसम्ममा स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन आउने हुँदा त्यसअघि निर्वाचन नगर्न कांग्रेसले सुझाएको भन्दै सबैको सहमतिमा मिति तय हुने बताए ।
आयोगको प्रतिवेदनपछि गाउँपालिका, नगरपालिकालगायतका स्थानीय निकायहरुको निर्वाचन हुने हुँदा संविधान कार्यान्वयनलाई सहज हुने भन्दै उनले सबै दलको सहमतिमा चैत–वैशाखमा निर्वाचन हुँदा राम्रो हुने बताए ।
मंसिरमा निर्वाचन गरेर फेरि छिट्टै निर्वाचन हुने हुँदा कांग्रेसले उठाएको विषयलाई पनि दलहरुले गम्भीररुपमा लिएको उनले उल्लेख गरे । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु