‘अब नेत्रहीनले सजिलै पढ्न र सुन्न सक्छन्’

२०७४ भाद्र ४ गते, आईतवार

काठमाडौं, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने प्रविधि ‘सफ्टवेयर’को विकास भएको छ । ‘अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन’ (ओसिआर ) नामक ‘सफ्टवेयर’को विकासले नेपालमा पहिलोपटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । ‘सफ्टवेयर’ले नेपाली अक्षरलाई ‘स्क्यानिङ’ गरेर तुरुन्त ‘वर्ड फाइल’मा रुपान्तरण गरी यसअघि नै विकसित भएको ‘टेक्स–टु–स्पिच’ (टिटिएस)को सहायताले ती ‘स्क्यानिङ टेक्स’लाई पढ्न र सुन्न सक्नेगरी रुपान्तरण (कन्भर्ट) गर्दछ ।
नेपाल नेत्रहीन संघका लागि काठमाडौं विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा.डा.बालकृष्ण वल र निराजन पन्तले करिब दुईवर्षको अथक परिश्रमपछि नेपालमा पहिलोपटक नेत्रहीनका लागि सो ‘सफ्टवेयर’ विकास गनरेका हुन् । यसका लागि अष्ट्रेलियन राजदूतावासले संघलाई रु २४ लाख आर्थिक सहयोगसमेत गरेको संघका अध्यक्ष नरबहादुर लिम्बूले जानकारी दिए ।
‘सफ्टवेयरले आँखाको विकल्पका रुपमा काम गर्छ, अब नेत्रहीनहरुले पनि सजिलै छापाका अक्षरलगायत अन्य नेपाली अक्षर पढ्न र सुन्न सक्छन् । हाम्रा लागि नयाँ जीवनको सुरुवात भयो । आँखाको दृष्टि नभएर के भो र ?’, उनले भने । पछिल्लो जनगणनाअनुसार नेपालका नेत्रहीनको संख्या ९५ हजारमात्र छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एकजना खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् ।
यसैगरी, ४०० जना नेत्रहीन शिक्षक पेशामा कार्यरत रहेको संघले जनाएको छ । एउटा ल्यापटप तथा स्क्यानिङको उपकरण भएका नेत्रहीनले आफ्नो ल्यापटपमा सो सफ्टवेयर डाउनलोड गरी सो सुविधा प्रयोग गर्न सक्छन् । ‘हामी नेत्रहीनलाई सफ्टवेयर निःशुल्क वितरण गरी कसरी डाउनलोड गर्ने भन्ने विषयमा तालिमसमेत दिने तयारीमा छौँ’, अध्यक्ष लिम्बूले भने । नेत्रहीनहरुले यसअघि अंग्रेजी र हिन्दी भाषाका ओसिआर सफ्टवेयर प्रयोगमा ल्याउँदै आएका थिए । नेपाली भाषाको सो सफ्टवेयरले पढेका र सुनेका विषयलाई (टेक्स) ब्रेन लिपिमा समेत प्रिन्ट गर्न सकिने छ । यो सुविधाले छामेर अध्ययन गर्न चाहने नेत्रहीनलाई अति सजिलो हुन्छ । ‘सर यहाँ तोक लगाई दिनुप-¥यो अथवा हस्ताक्षर गरिदिनुप¥यो भनेर सरकारी सेवामा कार्यरत अधिकृतलाई सेवाग्राहीले भन्छन् तर, उनीहरुले त्यहाँभित्रका विषय पढ्न र सुन्न सक्दैनथे अब यसलाई सफ्टवेयरले सजिलो बनाइदिएको छ’, उनले भने ।
सुरुका दिन संघले एकसय जना नेत्रहीनलाई सो सफ्टवेयर वितरण गर्ने जनाएको छ । यसपछि ल्यापटप हुनेका लागि सफ्टवेयर, नहुनेका लागि ल्यापटप र डेक्सटप कम्प्युटरसहित सफ्टवेयर वितरणको तयारी गरेको अध्यक्ष लिम्बूले जानकारी दिए । उनले ‘एक नेत्रहीन एक ल्यापटप’ वितरण अभियानसमेत संघबाट अघि सारिएको जानकारी दिँदै यसका लागि रु दुई करोड लाग्ने हुँदा सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । – विष्णु नेपाल (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार