अब टेलिफोन लाइनबाटै इन्टरनेट, भ्वाइस र केबल टिभी चल्ने

२०७१ श्रावण २ गते, शुक्रबार


काठमाडौं— नेपाल टेलिकमले इन्टरनेट प्रोटोकलमा आधारित टेलिफोन सेवा सञ्चालनमा ल्याउने भएको छ । अहिलेको फिक्स्ड लाइनमा नयाँ आइपी ल्याएर टेलिकमले सेवा परिवर्तन गर्ने छ ।उसले हाल प्रयोगमा रहेको फिक्स्ड टेलिफोन सेवामा परिवर्तन गर्दै त्यसैमा नयाँ विशेषता थप्ने जनाएको छ । टेलिकमले आइपी टेलिफोन सञ्चालन गर्न साउन महिनाभित्रै टेन्डर आह्वान गर्दैछ । नयाँ सेवापछि ग्राहकले भ्वाइस, उच्च गतिको इन्टरनेट र केबल टिभी एउटै लाइनमा पाउने टेलिकमले जनाएको छ ।नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक बुद्धि आचार्यले फिक्स्ड पिएसटिएन टेलिफोनको प्रयोगकर्ता बढाउन नयाँ विशेषता र सुविधा थपेर पुरानो प्रणालीलाई विस्थापित गर्न लागेको बताए । ‘फिक्स्ड लाइनका स्विचलगायत केबलहरु पुरानो भइसकेका छन् । त्यसलाई परिवर्तन गर्ने बेला भएकाले तार र स्विच परिवर्तन गर्दा आइपीमा आधारित सेवा थप गर्ने लागिएको हो,’ उनले भने । आचार्यले नयाँ विशेषताबाट ग्राहकले भ्वाइस, डाटा र केवल टिभीको सुविधा पाउने बताए ।
सबैले मोबाइल बोक्न थालेबाट घरमा हुने फिक्स्ड लाइनको प्रयोग कम भएपछि बढ्दो डाटा बजारलाई ध्यानमा राखेर फिक्स्ड लाइनमा पनि डाटा सेवा थप गर्न लागेको उनले बताए । ‘एउटै घरमा मोबाइलबाट डाटा चलाउँदा महँगो पनि हुन्छ, फिक्स्ड लाइनको डाटा सेयरिङ गर्दा सस्तो पर्ने हुनाले कम्पनीले नयाँ सुविधा थप्न लागेको हो,’ उनको भनाइ छ । टेलिकमले अहिले साढे ६ लाख फिक्स्ड लाइन प्रयोगकर्ता रहेको जनाएको छ । नयाँ सेवापछि १० लाखसम्म ग्राहक पुग्ने कम्पनीले लक्ष्य राखेको आचार्यले बताए ।
टेलिकमले नयाँ सेवालाई देशव्यापी बनाउने उद्देश्य राखेको छ । टेन्डर आह्वान भएपछि प्रारम्भिक काम सुरु हुने छ । देशव्यापी टेलिफोन परिवर्तन गर्न तीनवर्षे योजना रहेको आचार्यले बताए ।
कम्पनीले नयाँ सेवाबाट २० एमबीसम्मको स्पिड दिने योजना बनाएको छ । टेलिफोनको भ्वाइस सेवाको महसुल परिवर्तन नहुने र डाटा सेवा थप भएपछि महसुल थपिने कम्पनीले जनाएको छ । केवल टिभी सेवा भने टेलिकमले दिने छैन । ‘केबल टिभी सेवा प्रदायकसँगको साझेदारीमा यो सेवा दिने योजना छ,’ उनले थपे ।
टेलिफोनमा नयाँ सेवा थपिएपछि ग्राहक र व्यापार दुवै बढ्ने कम्पनीको अनुमान छ । अहिले फिक्स्ड लाइनको बिजनेस घटेको छ । अहिले चार सय ५० एउटा लाइनको मासिक व्यापार रहेकोमा नयाँ सेवापछि त्यो पनि बढ्ने कम्पनीको अपेक्षा छ । एकपटक आइपी पिएसटिएन सुरु भएपछि एउटै तारबाट ग्राहकले भ्वाइस, डाटा र टिभी पाउने आचार्यले बताए ।
गत साता नियुक्त भएका आचार्यले तीनवर्षे रणनीतिक योजना बनाएर प्रविधि, मानव संसाधन, बिजनेस तथा फाइनान्समा काम गर्ने बताए । ‘कतिपय कुरा हामीले आफैं गरेका हुन्छौं । तर ग्राहकले अरु नै चाहेका हुन्छन्, त्यसैले योजना बनाएर ग्राहकको माग अनुसार गर्छाैं,’ उनले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार