अबैध टेलिभिजन च्यानल बन्द गर्न माओवादीको आग्रह

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाण्डौ ,१३ साउन । नेकपा माओवादी सल्यानमाले अबैध रुपमा सञ्चालन हुँदै आएको निजी टेलिभिजन बन्द गर्न चेतावनी दिएको छ । माओवादी सल्यानको शारदा नगर कमिटीका सेक्रेटरी गणेशमान सिंहले विज्ञप्ति जारी गरी टेलिभिजन बन्द गर्न चेतावनी दिएका हुन् । केही वर्षदेखि सञ्चालनमा रहेको सल्यान टेलिभिजनले सम्बन्धित निकायमा दर्ता नै नगरी चलाएको भन्दै बन्द गर्न माओवादीले भनेको हो । ‘टेलिभिजनले सम्वन्धित निकायमा दर्ता नगरी, अनुमति नलिई र राज्यलाई तिर्नुपर्ने कुनैपनि कर नतिरी व्यवसायिकरुपमा सञ्चालन गरिरहेकाले सम्वन्धित निकायलाई आजका मितिदेखि नै टेलिभिजन बन्द गर्न जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराउँदछौं,’विज्ञप्तिमा भनिएको छ।
बन्द नगरे पार्टी स्वयमले कारवाही गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ। त्यस्तै माओवादी नगरकमिटीको बैठकले श्रीनगरमा संचालित शैक्षिक संस्थाले प्राविधिक शिक्षाको प्रवेश परिक्षामा नियम विपरित काम गरेकोले छानविनको माग पनि गरेको छ ।

प्रतिक्रियाहरु