अफ्रिकन युनियनद्वारा ट्रम्पले माफी माग्नुपर्ने माग

२०७४ पुष २९ गते, शनिबार

काठमाडौं, २९ पुस । अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नुपर्ने माग गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई दरिद्र, निच वा अपवित्र देश रहेको बताएको खबर सार्वजनिक भएपछि अफ्रिकन युनियनले माफी माग्नुपर्ने गरेको हो । अफ्रिकन युनियनले ट्रम्पको भनाईले अफ्रिकन समुदाय, अफ्रिका क्षेत्रको विविधता र मानवताको अपमान र अवमूल्यन गरेको बताएको छ । ट्रम्प प्रशासनले अफ्रिका महादेश र त्यहाँका नागरिकलाई बुझ्न नसकेको अफ्रिकन युनियनको भनाई छ । अमेरिकी राष्ट्रपतिको विरोधमा अफ्रिकाका विभिन्न देशमा प्रदर्शनसमेत भएका थिए । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको छ ।
आप्रवासीसम्बन्धी विषयमा छलफल गर्न बिहीबार भएको बैठकमा ट्रम्पले हाइटीसहितका अफ्रिकी देशलाई दरिद्रको संज्ञा दिँदै त्यस्ता देशका नागरिक अमेरिकामा नचाहिएको बताएका थिए । ट्रम्पले भने ट्वीट मार्फत आफूले त्यस्तो नभनेको दाबी गरेका छन् । अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सबैभन्दा पहिले ट्रम्पको भनाईसम्बन्धी खबर सार्वजनिक गरेको थियो ।
त्यसपछि अन्य सञ्चारमाध्यमले पनि त्यसको पुष्टि गरेका थिए । राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत आफूले हाइटीसहितका अफ्रिकी देशलाई दरिद्र नभनेको दाबी गरे पनि डेमोक्र्याट सिनेटरले ट्रम्पले बैठकमा बारम्बार अपमानजनक भाषा प्रयोग गरेको बताएका छन् । डेमोक्र्याट सिनेटर डिक डर्बिनले ट्रम्पले बैठकमा बारम्बर अफ्रिकी देशको आलोचना गरेको बताए । यस्तै रिपब्लिकन पार्टीका उच्च नेता तथा संसदका सभामुख पउल रायनले ट्रम्पको भनाई दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु