अपर मादी जलविद्युत् आयोजना सम्पन्न हुदै

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौ, १९ बैशाख । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सकिएको छ । आयोजनाको काम अहिले द्रुतगतिमा अघि बढेको र यही रफ्तारमा काम भयो भने मङ्सिर महिनासम्ममा काम सकेर विद्युत् उत्पादन गर्न सकिने आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए । आयोजनाको चार हजार २०० मिटर लामो सुरुङ खनिसकिएको र अहिले सुरुङमा दुईवटा टर्वाइन राख्ने काम भइरहेको छ ।
आयोजनाको विद्युत् प्रसारण लाइन जोड्ने ३२ वटा टावरमध्ये २० वटा निर्माण गरिसकिएको छ भने बाँकी १२ वटाको पनि दुई महिनाभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ । जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृह, बाँध निर्माण, सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।
पच्चिस मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न करिब रु पाँच अर्ब २८ करोड खर्च भएको छ । चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशतको लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजनाको काम सुरु गरिएको थियो । सो गाविसको वडा नं ९ अन्तर्गत पर्ने बाहुनडाँडाको गहिरीखेतीमा आयोजनाको विद्युत्गृह निर्माण गरिएको छ ।

प्रतिक्रियाहरु