‘अन्तिम लडाइँ लड्न जरुरी भइसकेको छ ‘

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौं,२९ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताएका छन् । आज नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर बन्दलाई सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
विज्ञप्तिमा विप्लवले नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गरेका र वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई बर्बाद पारिरहेको बताएका छन् । “नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गर्न पुगेका यी वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेका छन् । क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेता÷कार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो” जारी विज्ञप्तिमा भनिएको छ ।
विप्लवले पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुको गिरफ्तार सरकारले नै भन्दै आएको संघीय संविधानको विपरित रहेको भएको पुष्टि भएको बताएका छन् ।विप्लवले पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा मंगलबार आह्वान गरिएको नेपालबन्द सफल बनाउने सम्पुर्ण बामपन्थी, देशभक्त,
प्रगतिशिल शक्ति र जनताप्रति हार्दिक कृतज्ञता पनि ब्यक्त गरेका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ –
“हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, देवनारायण शाह लगायतका जिम्मेवार नेता÷कार्यकर्ताहरुलाई केपी—पिके सरकारले विशुद्ध राजनैतिक आस्थाका कारण पूर्वाग्रह साँधेर गिरफ्तार गरी अमानवीय यातना दिएपछि त्यसका विरुद्ध बाध्य भएर आन्दोलन घोषणा गरिएको थियो । नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गर्न पुगेका यी वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेका छन् । क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेता÷कार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो ।
यही क्रममा आज साउन २९ गतेका दिन नेपाल बन्दको घोषणा गरिएको थियो । कमरेड प्रकाण्ड लगायतका जतिपनि नेता÷कार्यकर्ताहरु अहिले गिरफ्तार गरिएका छन्, ती सबै केपी—पीकेहरुले भन्दै गरेको संघीय संविधानको विपरित रहेको उनीहरुले गरेका रवैयाले पुष्टि गरेको छ । अहिले हाम्रा कमरेडहरुको गिरफ्तारीलाई लिएर चौतर्फि विरोध भैराखेको छ । यसरी विरोध गर्ने संघ÷संस्था, विशिष्ट व्यक्तिहरुप्रति हामी धन्यवाद दिन चाहन्छौँ । यो सामाजिक फासीवादी सरकार गठन भएदेखि नै नेपालका क्रान्तिकारी शक्तिमाथि एकोहोरो दमन चलाई राखेको छ । यो कुरा देशका देशभक्त, वामपन्थी, प्रगतिशिल शक्तिहरुले बुझ्न ढिलो गर्नु हुँदैन । दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको यो सरकार र मुलरुपमा संसदीय व्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न पनि जरुरी भैसकेको छ ।
हाम्रो पार्टीले आह्वान गरेको यो नेपाल बन्दलाई समर्थन गर्दै वक्तव्य निकाल्ने सबै राजनैतिक शक्तिहरु, सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने, वामपन्थी, देशभक्त र प्रगतिशिल शक्ति, जनताप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै, हामीले शुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको सहयोग, साथ रहनेछ भन्ने पनि अपेक्षा राख्दछौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु