अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’मर्मत गरिने

२०७३ फाल्गुन ४ गते, बुधबार

काठमाडौं, ४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत गरिने भएको छ । गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेक्सलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य संगठनको रु ३५ लाखको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेक्सको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो । अफ्रिकन देशमा इबोलको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रीबाट रोगको संक्रमण भित्रनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँच गर्न सरकारले सो हेल्थ डेक्स स्थापना गरेको थियो । मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको संक्रमण देशभित्र भित्रनसक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिइ सजकता अपनाउनु पनि हेल्थ डेक्सको उद्देश्य हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्स गुणस्तरीय र आकर्षक पनि हुनुपर्छ भनी पुनःनिर्माण गर्न लागिएको बताए । १५ दिनभित्र मर्मतकार्य सकिने बताइएको छ । निर्देशक आचार्यकाअनुसार आगमनस्थलमा राखिएको थर्मल स्क्यानर क्यामेरा जडान पनि गत वर्षको भूकम्पले काम नलाग्ने गरी बिग्रिएको छ ।
उक्त क्यामेराको फोकस बाहिरबाट आएका यात्रीको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमको आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेक्समा ल्याइ परामर्श गरी थप जाँच गरी कुनै रोगको जोखिम भए/नभएको पत्ता लगाउने गरिन्छ । अब बन्ने हेल्थ डेक्सको स्वरुप नै परिर्वतन हुने निर्देशक आर्चायको भनाइ छ । उनले उक्त हेल्थ डेक्स आर्कषक र स्तरीयमात्र नभइ त्यहाँबाट दिइने सेवा गुणस्तरीय बनाउन परामर्श दिने, त्यसको तथ्यांक राख्न कम्प्युटरको पनि व्यवस्था हुने बताए । उक्त डेक्समा सिनियर अहेब र हेल्थ असिस्टेन्ट गरी पाँचजना कर्मचारी २४ घन्टै सेवामा खटाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंले पालैपालो कर्मचारी त्यहाँ परिचालन गर्दै आएको छ । तर, निर्देशक आचार्य उक्त डेक्सका लागि छुट्टै दरबन्दी सिर्जना गरी सोही स्थानका लागि नै कर्मचारी राख्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।
यस्तै, हेल्थ डेक्स सरकारले जिल्लामा सिमानामा पनि स्थापना गरेको छ । झापाको काँकडभिट्टाचौकी, विराटनगरको रानीभन्सार, रसुवाको रसुवागडीनाका, कन्चनपुरको गड्डाचौकी, भैरहवामा बेलियानाका, नेपालगन्जको जमुनाहानाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । विमानस्थलमा थर्मल स्क्यानर क्यामराको माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि सिमामा रहेका अन्य ६ हेल्थ डेक्समा भने टाँसिएको सूचनाको आधारमा शंकास्पद बिरामी आफैं हेल्थ डेक्सको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् । उक्त डेक्स सन्चालन गर्नका लागि सरकारले वर्षको रु तीन लाख बजेट प्रत्येक हेल्थ डेक्सलाई उपलब्ध गराउँदै आएको छ ।
सरकारले सात स्थानमा राखिएको हेल्थ डेक्समा अहिलेसम्म १५ हजार ९८१ जनाले स्वास्थ्यबारे परामर्श लिएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष १३१ जना र आव २०७३/७४ मा ३२० बिरामीसँग परामर्श गरिएको थियो । काँकडभिट्टामा रहेको स्वास्थ्य सहायता कक्षमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष एक हजार आव २०७३/७४ मा तीन सय बिरामीले परामर्श लिएका थिए ।
त्यसैगरी, भैरहवाको सुनौलीनाकामा आव २०७२/७३ मा ४५० र २०७३/७४ मा ८४, नेपालगन्जको जमुनामा आव २०७२/७३ मा सबैभन्दा बढी १३ हजार यो चालु आवमा तीन, महेन्द्रनगरको गड्डाचौकीमा आव २०७२/७३ मा सात सय ३ र अहिले दुईजनालेमात्र परामर्श लिएका छन् । रसुवागडी र विराटनगर रानी भन्सारको भने तथ्यांक नआएको महाशाखाले जनाएको छ । -कल्पना पौडेल (रासस)

प्रतिक्रियाहरु