अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन शुरु

२०७४ फाल्गुन ४ गते, शुक्रबार

काठमाडौं, ४ फागुन । प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको योजनामा अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रका विज्ञ, सेवाग्राही र सरोकारवालाको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा मानसिक स्वास्थ्य सम्बन्धी ९५ ओटा कार्यपत्र पेश गरिनेछ । सम्मेलनमा नेपाल, भारत, अष्टे«लिया, नर्वेलगायत देशका विज्ञले मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रको प्रवर्द्धन, रोकथाम, उपचार र पुनर्स्थापनालगायतका क्षेत्रमा छलफल गर्नेछन् । कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्षा चौधरीले केन्द्र, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य संरचना बनाउँदा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताइन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपालका लागि प्रतिनिधि जोस भ्याडिलरले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी नीति नभएकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नेलाई समस्या भएको बताए । विश्वमा नै मानसिक समस्या निकै डरलाग्दो रुपमा बढ्दै गएकाले सरकारले नै मानसिक स्वास्थ्यलाई सम्वोधन गर्नुपर्ने भ्याडिलरको भनाइ छ । कार्यक्रममा मानसिक स्वास्थ्य चिकित्सक र परामर्शदाताले सरकारले मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता गरिरहेको भन्दै गुनासो गरे ।

प्रतिक्रियाहरु