‘अन्तर्घात गर्नेहरुलाई कारबाही नगरेसम्म पार्टी सुध्रदैन’

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात गर्नेहरुलाई कारबाही नगरेसम्म पार्टी नसुध्रने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ११औं महाधिवशेनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले अन्तर्घातकै कारण पार्टी निर्वाचनमा पराजित भएको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्नुको विकल्प नभएको बताए । उनले पार्टीमा सभापतिकोमात्र आलोचना गरेर नहुने भन्दै अब आलोचना गर्न छाडेर पार्टी बनाउनेतर्फ लाग्नुपर्ने बताए । सभापति देउवाले प्रजातान्त्रिक विचार समाजमा आबद्ध भएका व्यक्तिहरु बौद्धिक भएकाले कुनैपनि गुटमा नलागी पार्टीको विचार बनाउनेतर्फ लाग्न आग्रह गरे । उनले प्रजातान्त्रिक शक्तिहरु विचारमा प्रस्ट हुन नसक्दा मुलुकमा कम्युनिस्ट विचार हावी भएको र सोही कारण आफूहरु निर्वाचनमा पराजित भएको बताए । वर्तमान सरकार भ्रष्टाचार र सत्ताकब्जाको रणनीतिमा लागेको आरोप पनि उनले लगाए ।
कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्वले विधान, प्रक्रिया र पद्धतिलाई लत्याउँदा पार्टी कमजोर हुँदै गएको बताए ।
उनले लन्च र डिनरमामात्र पार्टी एकता खोज्नुको औचित्य नहुने भन्दै नेतृत्वलाई सुध्रन सुझाव दिए । नेता अर्जुननरसिंह केसीले आन्तरिक विवादबाट माथि उठेर गल्ती, कमी–कमजोरी सुधार्दै पार्टीलाई एक ढिक्का भएर लानुपर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री लक्ष्मण घिमिरे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीलगायतले वर्तमान सरकार अधिनायकवादतर्फ उद्दत रहेको भन्दै लोकतन्त्रवादीले जनतालाई सचेत गराउनुपर्ने बताए । भोलिसम्म चल्ने महाधिवेशनमा ४८ जिल्लाका ४०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु