अनेकोटको आगो – बलराम तिमल्सिना

२०७६ चैत्र ६ गते, बिहीबार

अनेकोटको आगोले
खरानी बनाइसकेपछि
सात थुङ्गा समर-पुष्पहरू
हाम्रा छात्तीभित्र बसाइँ सरेको थियो आगो
र हामीलाई आरामले सुत्न दिएको थिएन !

त्यही आगोको जलन बोकेर
हामीले गरिरह्यौं आगोकै यात्रा !

हामी थकाइले थाक्न खोज्दा
त्यही आगोले उठाउँथ्यो र भन्थ्यो-
उठ गन्तव्य अझै टाढा छ
अहिलै थाक्ने बेला भएको छैन
हामी जुरुक्क उठ्थ्यौं र अगाडि बढ्थ्यौं !

हामी दायाँ वायाँ लाग्न खोज्दा
त्यही आगोले खवर्दारी गर्थ्यो र भन्थ्यो
खबरदार ! बाटै बाटो हिड
नत्र अनेकोटले पोलेर खरानी बनाउँने छ
अनेकोटबाट वसाइँ सरेर
हाम्रो छात्तीमा बसेको आगोले
हामीलाई सँधै जोगाइरहन्थ्यो !
हामीलाई सँधै जगाइरहन्थ्यो !!

हामी सेलाएर जम्म खोज्दा
आगो बेस्सरी भर्भराउँथ्यो र भन्थ्यो
मर्नु अगाडि नै खुट्टा नतन्काऊ
धेरै लड्न वाँकि छ , अघि बढ
हामी फेरि तातो बन्थ्यौं
हामी फेरि रातो बन्थ्यौं
र मोर्चाहरूमा हामफाल्थ्यौं !

आज दुई दशक पछि
हामी थाकेजस्तै बनेका छौं
छोडेर समरको शेष यात्रा
गोरेटो गोरेटोमा भड्किएका छौं
जमेर हिउँ जस्तै हामी
हिमनदीझैं लम्पसार सुतेका छौं
गतिहीन बनेर सुस्ताएका छौं
अझ हामी भित्रैका कति त अचेल
अनेकोटमा आगो झोस्नेसँगै
अङ्कमाल गरेर सगौरव
हितिती हितिती हाँसिरहेका छौं !

यस्तो लाग्छ अचेल –
लोभ पाप तिर्सनाले
छल पो गर्यो कि ?
छात्तीबाट अनेकोटको
आगो मर्यो कि ?
चुली चुम्छु भन्ने
उर्ध्वगामी बटोही
डराएर हराएर
बेंसी झर्यो कि ?

छात्ती छाम बटोही
हो तातो छ कि छैन ?
रगतको रङ्ग हेर
रातो छ कि छैन ?
माला गाँस्न एकताको
धागो छ कि छैन ?
छात्तीभित्र इतिहासको
आगो छ कि छैन ?

प्रतिक्रियाहरु