अदालत. कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा !

२०७६ भाद्र २६ गते, बिहीबार

काठमाडौं, २६ भदौं । फ्रान्समा कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अदालतले आदेश दिएको छ ।कुरा हो फ्रान्सको एक ग्रामीण क्षेत्र ओलनको मौरिस नामको कुखुराको । मौरिसले विहान विहान उच्च आवाजमा बास्दा आफ्नो निद्रा खल्बलिएको भन्दै एक धनाढ्य भलाद्मीले कुखराविरुद्ध अदालतमा उजुरी दिए । शहरको खलबलबाट जोगिन ओलनमा दोस्रो घर किन्न पुगेका धनाढ्य त्यतिबेला चित खाए जब विहानीपख आनन्दको निन्द्रा तिनै चार वर्षीय मौरिसको ठूलो हूँकारसहितको ‘कुखुरी काँ’ आवाजले खल्बल्याइदिन्थ्यो ।
कुखुराको बसाईबाट दिक्क भएका ज्याँ लुई बिहोनले मौरिसका मालिक छिमेकी जैकी र उनकी पत्नी कोहिनाविरुद्ध अदालतमा मुद्दा हाले । त्यसअघि लुईले सन् २०१७ मा कुखुरालाई चूप गराउन उसको मालिकलाई पत्राचार नै गरेका थिए । अदालतमा कुखुरा र धनाढ्य भलाद्मीका पक्ष विपक्षमा गरमागरम बहस भयो । यो मुद्दा फ्रान्समा राष्ट्रिय बहसको विषय नै बन्यो । ठूलो संख्याका फ्रान्सेली मौरिसको बास्ने अधिकार रक्षाका लागि समर्थनमा देखिए । उनीहरुले अनलाइन अपील नै दायर गरे ।
मौरिसको समर्थन र अधिकारका लागि झण्डै डेढ लाख हस्ताक्षर संकलन गरिए । मानिसले मौरिसको तस्वीर अंकित सर्ट लगाउन थाले । मौरिसको बास्ने अधिकार रोक्न खोजेकामा मानिसमा आक्रोश देखिन्थ्यो । लुईका वकीलले शान्ति भंग गराएको आरोपमा मौरिसका मालिकलाई ठूलो मात्रामा जरिवाना तिराइनुपर्ने माग गरेका थिए । तर अदालतका न्यायाधीशले भने मौरिसकै पक्षमा फैसला सुनाए र उसको बास्ने अर्थात् अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरे । अदालतले लुईको माग विपरित मौरिसको मालिकलाई दुःख दिएको भन्दै एक हजार एक सय डलर जरिवाना तोकिदियो ।
अदालती फैसलाबाट खुशी भएकी मौरिसकी मालिक कोहिनाले गाउँलाई गाउँकै विशेषतामा रहन दिनुपर्ने भन्दै यस फैसलाबाट मौरिसले पूरै फ्रान्सको लडाईं जितेको प्रतिक्रिया दिइन् । अब यहि नजीरलाई टेकेर अदालतमा परेका अरु यस्तै प्रकृतिको मुद्दा छिन्न सजिलो भएको पनि बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु