अत्यावश्यक सामान ओसारपसार गर्न पास नचाहिने

२०७७ बैशाख १ गते, सोमबार

काठमाडौं, १ वैशाख । सरकारको पछिल्लो निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, पशुपक्षी तथा माछाको आहार आदिको ढुवानी निर्बाध रूपमा ल्याउन दिइएको छ । त्यस्ता सामग्रीको आयात तथा ढुवानीका लागि आवश्यक पास नचाहिने व्यवस्था गरिएको छ । स्थानीय प्रशासनलाई जानकारी गराएर अत्यावश्यक सामग्री आयात गर्न सकिने व्यवस्था गरिएको छ । लामो दूरीमा ढुवानी गर्ने यातायातका साधन र यातायातकर्मीले सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारीसाधन मर्मत गर्ने वर्कशप र आवश्यक होटहरूको सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न उपत्यकाभित्र ११ स्थानमा तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । त्यसबाट काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई सहजरूपमा तरकारी तथा फलफूलको खरीदका लागि सहज भएको छ ।

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको हो । लकडाउन शुरु भएपछि यही चैत २८ गतेसम्म भारतबाट कूल ३७ हजार ३३३ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
यस्तै १४ हजार ५३ दाल, २१ हजार ६२५ तरकारी, पाँच हजार ९६० फलफूल, ७९ दुग्धजन्य पदार्थ, २२ हजार ९४३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार रु १० करोड ८७ लाख सात हजार बराबरको औषधिको कच्चापदार्थ र रु ५६ करोड ९७ लाख २८ हजार बराबरको तयारी औषधि आयात भएको छ ।

भारतबाट खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आयातमा समेत सुरक्षात्मक उपाय अपनाइएको छ । खाद्यान्न तथा अन्य सामग्रीको आयात गर्दासमेत कोरोनाको सङ्क्रमण हुने खतरा रहेकाले ती सामग्रीलाई निर्मलीकरण गरी आयात गर्ने व्यवस्था मिलाइएको छ । सामान आयातका लागि आउने सवारी चालक तथा सहयोगीलाई समेत आवश्यक सुरक्षात्मक उपाय अपनाउने व्यवस्था मिलाइएको छ ।

यस्तै प्रवक्ता डा देवकोटाले पैसा, मोबाइल जस्ता सामग्रीबाट पनि कोरोना सङ्क्रमण हुने जोखिम रहेकाले आवश्यक अध्ययन भइरहेको बताए । उनले भने , “हातले ती सामग्री चलाउने भएकाले आवश्यक निर्मलीकरण गर्न वा स्यानेटाइजरको प्रयोग गर्न आग्रह गर्दछौँ ।” उनले व्यक्तिगत रूपमा पनि स्वास्थ्य सतर्कता अपनाउन तथा नियमित रूपमा साबुन पानीले हात धुन र सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु