अत्याधुनिक पेस्तोलसहित तरुण दलका सभापतिसमेत ६ जना समातिए

२०७६ कार्तिक १५ गते, शुक्रबार

काठमाडौँ , १५ कार्तिक । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट बिहीबार राति करिब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली कांग्रेसनिकट युवा संगठन तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । उनका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा ‘फल्सबटम’ बनाइ लुकाइ–छिपाइ राखेको अवस्थामा ‘अटोमेटिक’ पेस्तोल एकथान र दुई राउन्ड गोली ‘लोड’ गरिराखेको ‘म्यागेजिन’सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु