‘ अजित मिजारको हत्यारालाई राज्यले कारबही गर्न सक्दैन भने हामी गर्छौं’

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौ, ७ भदौ । नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य तथा जनकपुर ब्युराे ईन्चार्ज ओम प्रकाश पुनले अजित मिजारको हत्यारालाई राज्यले कारबाही नगरे २४ घण्टा भित्र आफूहरुले कारबाही गरिदिने उद्घोष गरेका छन् । काभ्रेको पाँचखाल स्थित समाज कल्याण चोकमा हिजो भएको कोणसभालाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ‘लाचार प्रशासनले दलित भएकै कारण न्यायमा विभेद गरेको छ,’ पुनले कोण सभालाई सम्बोधन गर्दै भने,‘यदि राज्यले कारबही गर्न सक्दैन भने हामी २४ घण्टा भित्र हत्यारालाई कारबाही गरेर देखाइदिने छौं ।’
गत असार २५ गते अन्तर्जातिय विवाह गरेका कारण काभ्रे पाँचखाल घर भएका अजित मिजारको धादिङको मलेखु नजिकै रहेको खोला किनारमा हत्या भएको थियो । हत्या भएको डेढ महिना वित्दासमेत राज्यले दोषी कारबाही नगरेको भन्दै नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाले सोमबार काभ्रेमा जुलुश सहित कोण सभा आयोजना गरेको थियो ।
कोणसभामा विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता कृष्ण सेवाले राज्यले अपराधीको संरक्षण गरेको आरोप लगाए । पाँचखाल नगरपालिका लामिडाँडाबाट शुरु भएको जुलुश समाज कल्याण चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु