अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौँ , ७ असोज । नेकपा (माओवादी) निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीले बिना कारण प्रहरीले आफ्ना नेतालाई पक्राउ गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । क्रान्तिकारीले आफ्नो केन्द्रीय सदस्य प्रमोद गिरि र जिल्ला सदस्य महेन्द्र तामांगलाई बिना कारण प्रहरीले पक्राउ गरेको भन्दै आन्दोलन घोषणा गरेको हो । गिरी र तामाङलाई प्रहरीले असोज ५ गते कलंकीस्थित क्याम्ब्रिज कलेजबाट गिरफ्तार गरेको थियो । हाल दुवैजनालाई कालीमाटी प्रहरी वृत्तमा थुनामा राखिएको छ ।
यसै सन्दर्भमा क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले एक विज्ञप्ती जारी गर्दै कानूनले दिएको राजनीतिक अधिकारसमेत कुण्ठित हुने गरी गरिएको गिरफ्तारी प्रति खेद प्रकट गर्दै प्रशासनले चालेको गलत कदम रोक्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित नियमअनुसार स्वतन्त्रतापूर्वक रहँदै गर्दा उहाँहरुमाथि प्रशासनद्वारा गरिएको धरपकड कदापी स्वीकारे छैन । नागरिकको राजनीतिक अधिकार कुण्ठित पार्ने गरी गरिएको गिरफ्तार निन्दनीय छ ।’ कानूनको उपहास गर्ने अधिकार कसैलाई नभएको भन्दै झुठा बहानामा गरिएको हर्कत तत्काल बन्द गर्न माग गरिएको छ । ‘कानूने दिएको अधिकारको उपहास गर्ने छुट बर्दिवाला र बर्दिविहीन कसैलाई पनि छैन’ जारी विज्ञप्तिमा उल्लेख छ । बिनासर्त गिरफ्तार गरिएका गिरी र तामाङलाई तत्काल रिहा गर्न माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिएको छ ।

जसअनुसार असोज ८ गते प्रचारप्रसार, असोज ९ गते ललितपुर, भक्तपुर र काठमाडौंका सम्पूर्ण शैक्षिक संस्थामा कर्मचारीलाई प्रवेश निषेध, १० गते तीन वटै जिल्लामा कोणसभा र असोज ११ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु