अखिल क्रान्तिकारीले शुल्क असुल गर्ने विद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने !

२०७७ असार १९ गते, शुक्रबार

काठमाडौं , १९ असार । अखिल (क्रान्तिकारी) गण्डक ब्युरोअन्तर्गत कास्की जिल्ला समिति र तनहुँ जिल्ला समितिले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाउँमा विद्यार्थी र अभिभावकहरुसँग रकम असुल गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विभिन्न बहानामा चर्को शुल्क असुल गर्ने गरेको विरोधमा जिल्लामा रहेका प्याब्सन र एनप्याब्सन कार्यालयमा ध्यानार्कषणपत्र बुझाएको छ ।
अखिल क्रान्तिकारी कास्कीका संयोजक पुरन पुन र तनहुँका अध्यक्ष ममता रुचालले प्याब्सन र एन प्याब्सनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा बन्दाबन्दीको अवस्थामा अनलाइन शिक्षाका नाममा प्याब्सन र एनपाब्सनले शुल्क असुल गर्न निर्देशन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यो निर्णय तत्काल फिर्ता गर्न माग गरिएको छ । अखिल (क्रान्तिकारी) गण्डक ब्युरोले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी सङ्घर्ष घोषणा गरेको थियो ।
सङ्घर्षको कार्यक्रमअनुसार असार १७ गते ध्यानाकर्षणपत्र बुझाउने, असार १९ गते अन्तरक्रिया गर्ने, असार २१ गते शुल्क असुलीका विरुद्ध अभिभावकसहित विरोध प्रदर्शन गर्ने, असार २३ गते शुल्क असुल गर्ने विद्यालयमा कालो ब्यानर राख्ने, असार २५ गते शुल्क असुल गर्ने विद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने क्रान्तिकारीले बताएको थियो । त्यसपछि शुल्क फिर्ता नगरिएमा थप प्रतिरोधात्मक सङ्घर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु