अखिल (क्रान्तिकारी)द्वारा राज्य आतङ्कविरुद्ध देशव्यापी सशक्त प्रतिरोध गर्न अपिल

२०७६ असार ७ गते, शनिबार

काठमाडौँ , ७ असार । अखिल (क्रान्तिकारी) ले सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गर्न आम युवा विद्यार्थीमा अपिल गरेको छ । उसले आस्थाका आधारमा गिरफ्तार गरेका आफ्नो सङ्गठनका नेता–कार्यकर्तालाई तत्काल बिना सर्त रिहा गर्न माग समेत गरेको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । उनले सङ्गठनका कार्यकर्ता रिहा नगरिए सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गरिने पनि बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन नेपालमा चलिरहेको दलाल पुँजीपतिवर्गको जनविरोधी राज्य व्यवस्था र त्यसको जगमा अडेको असमान र अवैज्ञानिक दलाल पुँजीवादी शिक्षा प्रणालीकाविरुद्ध अनवरत रूपमा जीवन मरणको सङ्घर्षमा रहेको विषय सर्वविदितै छ । आफ्ना जनविरोधी, राष्ट्रघाती, प्रतिक्रान्तिकारी, भ्रष्ट र फासिवादी रबैयाका कारण पतनको अन्तिम दिशातिर उन्मुख केपी–पीके कम्पनीको फासिवादी सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो सङ्गठनमाथि निरन्तर रूपमा दमन, गिरफ्तारी, झूट्टामुद्दा र राज्य आतङ्कका शृङ्खलाहरू नै चलाइरहेको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जनविरोधी र कुरूपचरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीको न्यायपूर्ण आन्दोलनलाई हत्या, जेल, नेल र बन्दुकको सहाराले दबाउने फासिवादी हर्कत प्रदर्शन गरिरहेको छ । यसै सन्दर्भमा हाम्रो सङ्गठनका सचिवालय सदस्य तथा सगरमाथा ब्युरो संयोजक कमरेड दुर्गा तामाङ र ताम्सालिङ ब्युरो संयोजक कमरेड मुकुन्द श्रेष्ठलाई यही २०७६ असार ४ गते काठमाडौँबाट सङ्गठनको काममा रहेको अवस्थामा राजनीतिक आस्थाका आधारमा गैरन्यायिक रूपमा गिरफ्तार गरिएकोप्रति हाम्रो सङ्गठन घोर भत्र्सना र निन्दा गर्दछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हामी सामाजिक दलाल फासिवादी केपी–पीके सरकार र रामबहादुर प्रशासनलाई देशैभरिबाट गैरन्यायिक गिरफ्तार गरिनु भएका हाम्रो सङ्गठनका सबै कमरेडहरूलाई तत्काल बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौँ । साथै सामाजिक दलाल फासिवादी केपी सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गर्न आम युवा विद्यार्थीमा अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु