अखिल(क्रान्तिकारी) सहितका ७ बिद्यार्थी संगठन आन्दोलित

२०७५ बैशाख १३ गते, बिहीबार

काठमाण्डौ, १३ बैशाख । भ्रष्टाचार, मंहगी, कालोबजारी तथा निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धि लगायतको बिरोधमा सात बिद्यार्थी संगठन आन्दोलित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बुधवार बसेको ७ विद्यार्थी संगठनको संयुक्त बैठकले अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही लगायतका विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको प्रति पनि बिरोध गरेको छ ।
बैठकले सामूदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न तथा नीजि तथा संस्थागत विद्यालयले ‘नीजि तथा संस्थागत विद्यालय शुल्क मापदण्ड निर्दे्शिका – २०७२’ विपरित गरेको चर्को शुल्क बृद्धि तत्काल खारेज गरी निर्दे्शिका कार्यान्वयन गर्न र १० प्रतिशत छात्रवृत्ति न्यायोचित ढंगले लागू गर्न सरोकारवाला पक्ष र सरकारसँग माग गरेको छ ।
यस्तै बिद्याथी संगठनले हालै सरकारले तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने गरी गरेको निर्णयको विरोध गर्दै तत्काल उक्त निर्णय फिर्ता गर्न पनि माग गरेको छ । गृह मन्त्रालयबाट २०७५ वैशाख १६ गते देखि तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने निर्णय गरेको थियो ।
बैठकपछि जारी सात संगठनद्धारा जारी संयुक्त बिज्ञप्तीमा विगतदेखि नै राज्यले विद्यार्थी आन्दोलनका नेता÷कार्यकर्ताहरुलाई विभिन्न बहाना बनाई राजनीतिक आस्थाको आधारमा गिरफ्तार गर्दै आएको विषयप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
उनीहरुले प्रहरीले आज गिरफ्तार गरेका अखिल (क्रान्तिकारी) का महासचिव शाही लगायतका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।
आफुहरुका मागहरु पुरा नभए चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गर्ने पनि बिद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियू(पाँचौ) का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विवेक राई, अनेरास्ववियू( क्रान्तिकारी)का महासचिव राम नेपाली, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ , मागहरु तीन दिन भित्र पुरा नभए चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछौं ।

प्रतिक्रियाहरु