६ घन्टा १ मिनेटमा सगरमाथा आरोहण !

२०७६ जेष्ठ २१ गते, मंगलवार

काठमाडौं, २१ जेठ । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले ६ घन्टा १ मिनेटमा विश्वको सर्वोच्च सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । ३२ वर्षीय शेर्पाले यही जेठ १३ गते शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । कीर्तिमानी आरोही शेर्पाबारे जानकारी दिन मंगलबार पायोनियर एड्भेन्चरले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शेर्पाले जेठ १३ गते ६ बजेर ४५ मिनेटमा सगरमाथाको आरोहण गरेको जानकारी दिइयो । संखुवासभा, मकालुका शेर्पाले सगरमाथाको पाँचपटक सफल आरोहण गरिसकेका छन् ।
शेर्पाले चौथो अग्लो हिमाल ल्होत्सेको पनि छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेको पायोनियर एड्भेन्चरले जनाएको छ । उनले पाँचौं अग्लो हिमाल मकालुसहित तीनओटा हिमालको ५४ घन्टा २५ मिनटमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । ल्होत्से, मनास्लु, आमादब्लम, मकालु, केटु र धौलागिरिसमेत गरी उनले २० पटक हिमालको सफल आरोहण गरेका छन् ।
शेर्पाले सात महादेशका ८ हजारभन्दामाथिका सबै हिमाल आरोहण गर्ने जनाएका छन् । हिमाल आरोहणमार्फत् नेपाललाई विश्वसामु चिनाउने उनले बताए । पछिल्लो समयमा हिमालमा फोहरमैला बढ्दै गएको भन्दै हिमाल बचाउने अभियानमा सक्रिय हुने उनको भनाइ छ । ट्रेकिङ गाइडमार्फत् हिमाल आरोहणमा प्रवेश गरेका शेर्पाले चाँडै अरु हिमाल आरोहण गरेर थप कीर्तिमान कायम गर्ने बताएका छन् ।

प्रतिक्रियाहरु