६५ किमीको भाडा २ हजार ५ सय !

२०७६ कार्तिक २० गते, बुधबार

काठमाडौं, २० कात्तिक । जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ ।

उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन् । मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा रु एक हजार २०० भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उनको भनाइ छ ।

मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत रु एक हजारदेखि एक हजार ५०० भाडा तिर्नुपरेको गुनासो यात्रुको छ । टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन् । कसैलाई भने राम्रो नहुने चेतावनी जिप व्यवसायीले दिने गरेका प्रहरीको दाबी छ । प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण यात्रुले बाध्य भएर भनेको भाडा तिर्नुपर्ने अवस्था छ ।

कर्णाली करिडोर नेपाली सेनाले निर्माण जिम्मा लिएको छ । तत्काल यात्रुको सहजताका लागि भन्दै केही जिप सञ्चालन अनुमति दिइएको छ । त्यही मौका पारेर जिप व्यवसायीले प्रहरीलाई समेत छलेर भाडा असुल्ने गरेका छन् । जिल्लाका सबैजसो ग्रामीण सडकसँगै अन्य मार्गमा सञ्चालन हुने जिपले पनि यात्रुबाट मनोमानी भाडा लिने गरेका छन् । सडक समस्या देखाएर यात्रुलाई व्यवसायीले खुलआम ठगी गरेर भाडा असुली गर्ने गरेका छन् ।

सदरमुकाम मार्तडी–कोल्टी, मार्तडी–डोगडी, मार्तडी–घटमुनासहित कर्णाली करिडोर सडकमा पनि व्यवसायीले खुलेआम यात्रुबाट भाडा लिने नाममा बढी पैसा असुली गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाले कर्णाली करिडोरमा प्रतिकिमी रु ११ लिने निर्णयसमेत गरेको थियो । सो मूल्य जोड्दा पिलुचौरदेखि जितेगडासम्मको रु ७१५ हुन्छ, तर यहाँ निर्णयको भन्दा तेब्बर रकम असुली जिप व्यवसायीले गर्ने गरेका छन् ।

नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले सडक निर्माणमा खटिएका सेनाका इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने बताए । कर्णाली करिडोरमा बाजुरा र कालिकोटका जिप व्यवसायीले यातायात सञ्चालन गरिरहेका छन् । चर्को भाडा असुलीसँगै क्षमताभन्दा बढी जिपको छतमा समेत गरी २० भन्दा बढी यात्रु बोक्ने गरिएका छ् ।

जिपको सिटपास पाँच र कसैको नौ जना हुन्छ, तर छत पछाडि र ढोकामा झुण्डिएर बोक्ने गरेको पाइएको छ । उद्घाटनका बेला बाजुराबाट छ र कालिकोटबाट छ जिप सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो । तर, अहिले उक्त सडकमा जथाभावी र मनोमानीरूपमा यातायात सञ्चालन भइरहेका छन् ।

कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा रहेको छ । सेनाले सो सडकको जिम्मा विसं २०७१ चैतबाट शुरु गरेको थियो । अहिलेसम्म १०७ किमीमा काम भइरहेका मध्ये ७२ किमीमा यातायात सञ्चालनमा आएको उपसेनानी शङ्कर सिलवालले जानकारी दिए।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु