१५९ जनाद्वारा सगरमाथाको सफल आरोहण

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उनले बताए । अहिलेसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।
दोर्जीबाट १५ आँै पटक शिखरमा
दोर्जी ग्याल्जेन शेर्पाले १५ आँै पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । आज बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का दोर्जीसहित अन्य दर्जनौ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
पासाङ हिलाले पनि आठौँ पटक शिखरमा
त्यसैगरी खुम्बु पासङल्हमु गाउपालिका–४ का पासङ हिला शेर्पाले पनि आठौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिए । अहिले अधिकांश आरोही क्याम्प २, ३ र ४ मा पुगेर शिखर जाने तयारी जुटेका छन् ।

प्रतिक्रियाहरु