कोरोना संक्रमितको संख्या १४०१ पुग्यो !

२०७७ जेष्ठ १७ गते, शनिबार

काठमाडौं, १७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन । योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११, सप्तरीमा नौ, धनुषामा सात, रौतहटमा छ, दाङमा पाँच, महोत्तरीमा चार, पर्सामा दुई, संखुवासभामा दुई, झापा, ललितपुर र बारामा एक/एकजनामा संक्रमण देखिएको हो । कुल संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । हाल देशभर ‘क्वारेन्टाइन’मा एक लाख १० हजार ८८ जना रहेका छन् । ‘आइसोलेसन’मा एक हजार १७६ जना रहेका उनले जानकारी दिए ।
मन्त्रालयकाअनुसार शनिबारसम्म नेपालमा ‘आरडीटी’ विधिबाट एक लाख सात हजार ५५ नमुना परीक्षण भएका छन् । ‘पीसीआर’ विधिबाट भने हालसम्म ६६ हजार ७२९ परीक्षणहरु गरिएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीका एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी छजनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु