हाइड्रोजन बम परीक्षणकै कारण ठूलो कम्पन आएको दाबी

२०७४ भाद्र १८ गते, आईतवार

काठमाडौं, १८ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ । यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी पनि समाचारमा गरेका छन् ।
यस परीक्षणको उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको थिएन । त्यो के कस्तो बम हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टी गरेको थिएन । तर पनि सो परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टी भएको छिमेकी देशहरुले बताएका छन् । परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई छ ।
त्यस लगत्तै उत्तरले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो । उत्तरको आधिकारिक समाचारमा सो परीक्षण सफल भएको भनिएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको जनाएका हुन् ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।
उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले सो परीक्षणको पुष्टी भएको नै बताएका छन् भने चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ ।
उत्तर कोरियाले क्षेप्यास्त्रहरु निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ । तर उत्तर कोरियाले भने यस विष्यामा कुनै प्रतिक्रिया दिएको छैन ।
यस परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ ।
साथै दक्षिण कोरियाली विज्ञहरुले यस पटकको यो परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान पनि दक्षिण कोरियाली बिज्ञहरुले गरेका छन् ।
उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गर्नुभएको समाचार आएको थियो । त्यस लगत्तै यो कम्पन आएकोले सोही समयमा नै हाइड्रोजन सहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको हो ।
यस परीक्षणको कम्पनपछि प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सिन्जो अबेले भन्नुभएको छ, यो परीक्षण निकै नै शक्तिशाली छ यस्ता क्रियाकलापहरु जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।
उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरुले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधान भन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् ।
उत्तर कोरियाले क्षेप्यास्त्रका विरुद्ध जापानको उजुरी
उता जापानले भने उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टी गरेको छ । जापानले आइतबार बिहान उत्तर कोरियाले यस्तो शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको पुष्टी भएको दाबी गरेको छ ।
यो पुष्टीसँगै जापानले यस्तो परीक्षणको औपचारिक रुपमा विरोध पनि जनाएको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले दाबी गरेको छ ।
जापानका विदेशमन्त्री तारो कानोले भन्नुभयो ‘जापान सरकारले आवश्यक विभिन्न सूचनाहरु संकलन गरेर र आवश्यक अनुसन्धान गरेर सो आणविक परीक्षण गरेको पुष्टी गरेको छ ।’
जापान सरकारले पनि मौसमसम्बन्धी र भौगार्भिक सर्वेक्षणबाट यससम्बन्धी सूचना लिएको थियो । प्राप्त सूचनामा यी निकायबाट प्राप्त जानकारी अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकै कारण पृथ्वीमा कम्पन आएको पाइएको जापानले जनाएको थियो ।
जापानले चीनमा रहेको उत्तर कोरियाको दूताबासमा यस्तो विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनैपनि हालतमा क्षम्य नहुने जिकीर पनि गरिएको छ ।
उत्तर कोरियाले हालैमात्र पनि जापानको समुद्रमा पर्नेगरी एक मिसाइल हानेको थियो । जसका कारण जापानले गम्भीर रुपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै उत्तर कोरियामाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको थियो ।
त्यसयता पनि उत्तर कोरियाले कुनै पश्चाताप महसुश गरेको छैन । बरु उसले अन्तर महादेशीय मिसाइल बनाउन सकेकोमा गर्वको महसुश गरेको छ ।
उत्तर कोरियाले ग-यो हाइड्रोजन बम बनाएको दाबी
यसैबीच एक अर्काे समाचारअनुसार उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत हान्न मिल्ने खालको एक अत्याधुनिक हाइड्रोजन बम बनाएको बताएको छ ।
यस्तो बमको विकास गरेको उत्तर कोरियाले बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थल र हतियार नै निरीक्षण गरेको जानकारी दिएको छ ।
आइतबार बिहान उनले यस्तो बमको नै निरीक्षण गरेका थिए । तर उक्त बमको तस्बिर भने अझसम्म सार्वजनिक नगरिएको प्राप्त समाचारमा जनाइएको छ ।
पश्चिमा देशहरुले भने ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरु निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका छन् ।
त्यस स्तरको प्रविधि उक्त देशले बिकास गर्न सकेको भन्नेमा उनीहरुको विश्वास कम रहेको बताइन्छ । हालैमात्र उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापानतर्फ प्रहार गरेको थियो ।
दक्षिण कोरियाली राष्ट्रपतिले बोलाउनुभयो आकस्मिक सुरक्षा बैठक
यसैगरी दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आइतबार राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।
उहाँले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणस्थलतर्फबाट मापन गरिएको एक भूकम्पीय प्रकम्पन आएकोले यसले कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाउनुभएको हो ।
यहाँका राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले दिएको जानकारीअनुसार उहाँले स्थानीय समयअनुसार अपरान्ह् साढे चार बजे सो बैठकको आह्वान गर्नुभएको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण सो प्रकम्प आएको अनुमान गरिएको छ । जसका कारण ५.६ म्याग्निच्युडको कम्पन महसुश गरिएको बताइएको छ ।
तर उक्त देशले क्षेप्यास्त्र परीक्षण गरिएको बारेमा भने केही सार्वजनिक गरेको छैन । उत्तर कोरियाली नेताले आइतबार बिहान हाइड्रोजन बम निर्माण गरेको भन्दै सो बमको निरीक्षण गरेको समाचार आएसँगै उक्त क्षेत्रमा सो कम्पन आएको पाइएको भौगार्भिक सर्वेक्षण निकायहरुले जनाएका छन् ।
उत्तरसँग वार्ता सम्भाव थियो– अमेरिका
यसैबीच उत्तर कोरियाले निरन्तरको क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको बताउदै आएको थियो ।
त्यस प्रयास अमेरिाले गर्दै आएको जनाएको थियो । त्यस कुराको जानकारी एकजना उच्च सुरक्षा अधिकारीले हालै दिएका थिए ।
अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले केही समयअघि भन्नुभएको थियो “अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने विश्वसनीय तथा ब्यवहारिक विकल्प रहेको छ ।”
तर अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना भने नबनाएको पनि उहाँले बताउनुभएको थियो । उहाँले हालै गरेको चीन भ्रमणका क्रममा सञ्चारकर्मीसँग सो कुरा बताएका थिए ।
अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढाएको उहाँको भनाई थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा भएको र यसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौती खडा गरिरहेको पनि उहाँको भनाई थियो । (रासस-एएफपी-सिन्ह्वा)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार