सैनिककाे गाेली लागेर ३० प्रदर्शनकारीकाे मृत्यु

२०७६ जेष्ठ २१ गते, मंगलवार

काठमाडौं, २१ जेठ । अफ्रिकी देश सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको थियो । सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि धर्नामा बस्दै आएका छन् । आन्दोलनका कारण राजधानी खार्तुमका हातहतियारसहित ठूलो संख्यामा सेना परिचालन गरिएको छ ।
अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दवाब दिइरहेका छन् । रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाहरुले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको बताएका छन् । रेडक्रसले आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् । ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु