सेरोगेट मदर – बलराम तिमल्सिना

२०७५ बैशाख ७ गते, शुक्रबार

जव श्रीपेचलाई देखेपछि
सिर झुकायो र ढोग्यो
मेरो भनेको गणतन्त्रुले
एकाएक अचम्म भयो !
आफैप्रति आशङ्का भयो
जव सजिलै छिमेकीलाई चिन्यो
र हिन्दीमा सलाम गर्यो
अचम्मै अचम्म भयो !

म प्रसुती पनि भएकै हो
जन्माएकै हो बच्चा मैले
मेरो कोख साँक्षी छ
तर किन मिल्दैन बच्चाको डिएनए ?
बाऊको नमिलेको भए
भन्न सकिन्थ्यो तलमाथि पर्यो होला
यहाँ त आमासँगै मिलेन
क्या फसाद भयो क्या अचम्म भयो
यसरी दुखद अचम्म भयो !

किन न्वारन गर्न कसिन्छ छिमेकी ?
किन मुख विगार्छन घर परिवार ?
किन मिल्दैन डिएनए बच्चाको ?
सायद प्रसव मुर्च्छनामा हुँदा म
कसैले साट्यो मेरो बच्चा
र राखिदियो कसैले अर्कै
र त यो बच्चा मजस्तै छैन
अर्कै मतिको छ , अगतिको छ !

कति मायाँ गरेर बोलाउँथे म –
“प्यारो गणतन्त्रु !”
ऊ माझी औंलो देखाउँथ्यो मलाई
गिज्याउँथ्यो /होच्याउँथ्यो
लगातार यस्तो भएपछि
सरदर आमाले सोच्नै नसक्ने
यौटा भयानक निस्कर्षमा छु म –
यो बच्चा मेरो होइन
यो अरुनै कसैको बच्चा हो
खै मेरो गणतन्त्रु ?
यो श्रीपेच ढोग्ने असती
मेरो गणतन्त्रु हुन सक्दैन
एक सक्दैन
दुई सक्दैन
तीन सक्दैन
एउटी आमाको कठोर निष्कर्स हो यो-
यो बच्चा मेरो होइन !

कतै म थाहै नपाई
सेरोगेट मदर त भइँन
यो वेमान बच्चाको ?
इतिहासले कति भद्दा मजाक गर्छ !

आई रियल्ली फिलिङ-
सेरोगेट मदर !
एम आई राइट ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु