सेक्रेटरी बस्नेतलगायत ३ जनालाई तत्काल रिहा गर्न माग

२०७६ कार्तिक २८ गते, बिहीबार

काठमाडौँ, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरोले सुनसरी जिल्ला सेक्रेटरी मोहन बस्नेत, सदस्य सागर राई र सुरेश राईलाई पार्टी कामकै अवस्थामा रहेको बेला अमानवीय र गैरकानुनी ढङ्गलबाट अपहरणशैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा एवंम भत्र्सना गरेको छ । मेची–कोशी व्युरो इन्चार्ज अनुले बुधबार प्रेस विज्ञप्ति निकाली बस्नेतलगायत ३ जनालाई गैरकानुनी ढङ्गलबाट गिरफ्तार गरेको भन्दै तत्काल विनासर्त स–सम्मान रिहाई नगरे निर्णायक संघर्ष गर्ने चेतावनी दिएका छन् ।
मेची–कोशी व्युरो इन्चार्ज अनुको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी ब्युरो अन्तर्गत सुनसरी जिल्लाका सेक्रेटरी कमरेड मोहन बस्नेत, सदस्य सागर राई र सुरेश राईलाई हिजो मिति २०७६ कार्तिक २६ गते पार्टी कामकै अवस्थामा रहेको बेला प्रहरीहरुले गिरफ्तारी गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
व्युरो इन्चार्ज अनुको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको भुगोल अतिक्रमण गरेर हाम्रो स्वाभिमानमाथि आक्रमण गरिरहेको भारतीय साम्राज्यवादको अगाडि निरिहता प्रदर्शन गरिरहेको राष्ट्रघातिहरुको सरकारले राष्ट्र र जनताको पक्षमा अहोरात्र काम गर्ने देशभक्त क्रान्तिकारीहरुलाई हत्या गर्ने, गिरफ्तार गर्ने, झुट्टामुद्दा लगाउने जस्ता कामहरु गरिरहेको छ । हामी यसको घोर निन्दा र भत्र्सना गर्दछौं ।’
व्युरो इन्चार्ज अनुको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘गिरफ्तार मोहन बस्नेत लगायत सागर राई र सुरेश राईलाई तुरुन्त रिहा गरियोस । साथै पुर्व क्षेत्रमा दलालहरुले चलाएको दमन तुरुन्त बन्द गर्न हामी चेतावनी दिन चाहान्छौं । यतिबेला देशमाथिनै यो प्रकारको हस्तक्षेप र अतिक्रमण हुने कुरा कुनै पनि स्वाभिमानी नेपालीले सहने स्थिति छैन । हामी भारतीय साम्राज्यवाद र उसका नेपाली पाल्तु कुकुरहरु विरुद्ध निर्णायक संघर्ष गर्नको निम्ति अगाडि आउन देशभक्त, क्रान्तिकारी जनसमुदायलाई अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु