सुलेमानी हत्या अमेरिकी युद्व उन्मादको पराकाष्ठा – विष्णु पन्त

१. सुलेमानीको हत्या र अमेरिकी युद्व उन्माद ः इरानका शक्तिशाली नेता तथा कुड्स फोर्सका जनरल कमाण्डर कासिम सुलेमानीलई अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा ड्रोन आक्रमण गरि हत्या गरेपछि त्यसको प्रतिक्रिया स्वरुप मध्यपूर्वमा अमेरिका विरोधी जनभावना भड्किएको छ । परिणाम स्वरुप अमेरिकी छायाँ ठानिएको इराकी संसदले समेत आफ्नो देशमा भएका सबै विदेशी सेनालाई फिर्ता पठाउने प्रस्ताव पारित गर्न बाध्य भयो । मध्यपूर्वमा खासगरी मुस्लिम समुदाय अमेरिकी ज्यादतिको विरुद्धमा भड्किँदो छ । हुनसक्छ यो जनआक्रोश अमेरिकाका लागि ज्यादै महङ्गो पर्न सक्छ । घटनाहरु निकै नाटकीय ढंगले अगाडि बढिरहेका छन् । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोक्नु, अमेरिकी सेनालाई आतंककारी र आततायी शक्तिका रुपमा घोषणा गरी संसदबाट अनुमोदन गराउनु सम्भावित तेस्रो विश्वयुद्वको संकेत हुनसक्छ । त्यति मात्र होइन अमेरिकाले इरानका ५२ ठाउँमा आक्रमण गर्ने डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा यदि इरानमाथि हमला भए अमेरिकाभित्रै पसेर अमेरिकालाई खरानी बनाइदिने चेतावनी मात्र दिएनन् अमेरिकाका सहयोगी इजरायल र दुवैमा बमवाडी गर्ने धम्की पनि दिए । इरानले मध्यपूर्वबाट अमेरिकी प्रभावलाई नामेट पार्ने प्रयत्न गर्दैछ । त्यतिमात्र होइन, इरानले आफ्ना सैन्य कमाण्डर कुड्स फोर्सका जनरल कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीको सँगसँगै इराकस्थित अमेरिकी सैन्य क्याम्पमाथि करिब दुई दर्जन मिसाइल आक्रमण गरेको छ । इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण पछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खमानीले भने–“अमेरीकाको गालामै थप्पड हान्न सफल भएका छौं ।”
२. मुस्लिम राष्ट्रहरु एक हुनसक्ने सम्भावना ः हामीलाई थाहा छ, मध्यपूर्वमा इराक अमेरिकाको मित्र शक्ति थियो । तर, यो सुलेमानीको हत्या घटनाले इराक पनि अमेरिकाको उन्मादबाट आजीत भई अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गर्न बाध्य भयो । अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इराकलाई पनि नाकाबन्दी लगाउने र इराकको हवाई अड्डामा अमेरिकाको अरबौं लगानी नउठेसम्म फिर्ता नजाने घोषणा गरेका छन् । अमेरिकाको मित्र राष्ट्र ठानिएका साउदी अरब र दुवै पनि रक्षात्मक अवस्थामा पुगेका छन् । र दुवैपक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । उता कतारले त केही समय अघि मात्र अमेरिकी नाकाबन्दीको पीडा भोगेकै थियो । यो घटनाले मुस्लिम राष्ट्रहरु एक हुनुपर्ने सन्देश अप्रत्याशित रुपमा विकास हुँदैछ । मुस्लिमहरुलाई फुटाउने र लडाउने, एकका विरुद्ध अर्कालाई प्रयोग गर्ने र अन्त्यमा सबैलाई सिध्याउने अमेरिकी रणनीति ति अब खुल्ला आकाशको सूर्य जस्तै छर्लङ्गै भएको छ । सद्दाम हुसेन हुन या बिन लादेन, तालिवान हुन या आईएस सबै अमेरिकाले आफैं जन्माउने, पालनपोषण गर्ने र स्वार्थ नमिलेमा आतंककारीको विल्ला लगाउँदै क्रुर र निर्मम ढंगले सिध्याउने काम गर्दै आएको छ । अमेरिकी रवैया र अत्याचारको शिकार मुख्य रुपमा मुस्लिम समुदाय भएको छ । वास्तवमै अमेरिकाले विश्वभरका मुस्लिम समुदायमाथि भयावह ज्यादति गरेको छ । यसबाट विस्तारै मुस्लिम राष्ट्रहरु झस्किँदै गएका छन् । इरानमा भएको सुलेमानी हत्या प्रकरण पछि मलेशियाका प्रधानमन्त्रीले मुस्लिमहरु एक हुनुपर्ने धारणा राखेको समाचार आएको छ । उता पाकिस्तान अमेरिका र इरानबीचको संघर्षमा आपूm कसैको पक्षमा नरहेको धारणा सार्वजनिक गरेको छ ।
३. मुस्लिम जनसमुदायमा अमेरिका विरोधी लहर ः अमेरिका आक्रमणको पछिल्लो निशानामा परेका छन् कासिम सुलेमानी । उनको प्रयत्न पनि मध्यपूर्वमा अमेरिकी विरोधी जनमत बनाउने र उसलाई कमजोर बनाउने थियो । मध्यपूर्वबाट विस्तारै अमेरिका विरोधी जनमत बढ्दै गएको तथ्य पछिल्लो इराकी संसदको निर्णयबाट पनि प्रष्ट हुन्छ । हुनसक्छ यो भावनाले विस्तारै साउदी र कुवेतलाई पनि छुनसक्छ । जब अमेरिका विरोधी जनआक्रोश बढ्दै जान्छ, तब अमेरीकी सेना एक्लै जतिसुकै शक्तिशाली भए पनि त्यहाँ टिक्न सक्ने अवस्था रहँदैन् । उता अफगानिस्तान पनि अमेरिकासँग आजित बनेको सहजै बुझ्न सकिन्छ र त्यसको प्रतिक्रिया स्वरुप अमेरिकाले पुनः तालिवान समूहसँग वार्ताको नौटंकी गरिरहेको छ । यसरी एकपछि अर्को गरी मुस्लिम राष्ट्रहरु अमेरिका विरोधी मोर्चामा एकताबद्ध हुने सम्भावना प्रबल छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आपूmविरुद्ध आएको अविश्वास प्रस्तावलाई छल्नका लागि सुलेमानमाथि हमला गरेको समाचार पनि फैलिएको छ । अर्को विषय यसअघि अमेरिकी राष्ट्रपतिमाथि अमेरिकी संसदमा अविश्वास प्रस्ताव दर्ता हुनासाथ त्यसलाई विषयान्तर गर्नका लागि कुनै देशमा सैन्य आक्रमण वा हवाई हमलाको साहारा लिइन्थ्यो । त्यसकारण प्रश्न भयावह छ, अमेरीकी संसद र राष्ट्रपतिको अन्र्तविरोधको शिकार अरु कुनै देश भईदिनु पर्ने आखिर यो नियति र दुर्दशा कहिलेसम्म ?
४. अमेरिकाको प्रतिरोध गर्ने सबै आतंकवादी – आजसम्मको सम्पूर्ण इतिहासले बोल्छ जुन शक्ति राष्ट्र वा सरकारले अमेरिकाको विरोध गर्छ त्यो आतंककारी शक्तिका रुपमा घोषित हुन्छ । र बहुराष्ट्रिय सेनाको आक्रमणको निशाना बन्छ । हिजो इराक त्यस्तौ भयो । अफगानिस्तान, सिरिया हुँदै अहिले इरानसम्म यो चक्र चलिरहेको छ र आजसम्म अमेरिका सफल पनि भएको छ । तर, पछिल्लो समय इरान खतरनाक रुपमा उभिँदै छ र हुनसक्छ इरानले मुध्यपूर्वबाट अमेरिकालाई खेद्नेछ । त्यसको प्रत्यक्ष मारमा इजरायल पर्नेछ । उता दुवै र साउदी अरब अनि कुेत विस्तारै इरान तर्फ वा मुस्लिम एकतातर्फ अग्रसर हुनेछन् । वास्तवमा यो आततायी व्यवहार थियो कि अमेरिकी अत्याचारको विरोध गर्नासाथ आतंककारी हुने ! हुन पनि शुरुमा अमेरिका आफैंले जन्माउने, हुर्काउने अनि स्वार्थ बाझिना साथ आतंककारी नाइके भन्दै सफाया गर्ने । आफ्नो भूमिमा विदेशी आक्रमण, आफ्नो आकाशमा विदेशी युद्वक विमान अनि आफ्नै घर र शहरमाथि उनीहरुको बमबारी । आफ्नै आफन्त र समुदायको हत्या । आफ्नै शहरहरु खरानी । कसले सहन सक्छ र ! यो हृदयबिदारक दृश्य हुँदा–हुँदा एउटा सार्वभौम राष्ट्रको सरकार वा सेनालाई नै आतंककारी घोषणा गर्ने ? आज इरानले पनि अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको छर जस्ताको तस्तै जवाफ फर्काएको छ ।
५. मुस्लिम एकताले धार्मिक युद्व निम्त्याउन सक्छ – हामीलाई डर लाग्छ, यदि धार्मिक युद्व भयो भने विश्वमा फेरि अर्को भयावह अवस्था उत्पन्न हुनेछ । मुख्य लडाई क्रिश्चियन वा इसाई र मुसलवानका बीच हुनेछ तर त्यसको प्रभाव सबै धर्म, जाति र सम्प्रदायमाथि पर्नेछ । अतः त्यस्तो विषम परिस्थिति निम्त्याउनेतर्फ नजानु सबैको बुद्धिमानी हुनेछ । यदि साँच्चिकै मुस्लिम राष्ट्रहरु एक भए भने अमेरिका खरानीमा परिणत हुनेछ । आज एकातर्फ अमेरिकी उन्माद छ भने उसलाई समर्थन गर्ने समूह खुम्चिँदै र रक्षात्मक बन्दैछ । बेलायत र इजरायलले मात्र अमेरिकी आक्रमणको समर्थन गरेका छन् ।
६. संयुक्त राष्ट्र संघको भूमिका शुन्य – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा अमेरिकी सेनाद्वारा इराकमा रहेका सैन्य क्याम्पमाथिका क्षेप्यास्त्र प्रहारको विषयमा संयुक्त राष्ट्र संघका महासचिवले मात्र यति भने – अर्को खाडी युद्ध विश्वले धान्न सक्दैन । न त संयुक्त राष्ट्र संघले अमेरिकी हमलाको विरोध गर्न सक्यो न त इरानी प्रतिक्रियाको नै । सारमा संयुक्त राष्ट्र संघ केवल अमेरिकाको छायाँ संगठन मात्र बनेको छ ।
७. रुस र चीनको विरोध – इराकमा इरानी सैन्य जनरल कासिल सुलेमानीको अमेरिकी सेनाद्वारा प्रहार गरिएको ड्रोन हमलाबाट भएको मृत्युको घटनापछि इरान र अमेरिका बीचको तनाब पछि रुस र चीनले मुख खोलेका छन् । उनीहरुको भनाईमा यो आक्रमण अन्तराष्ट्रिय मूल्यमान्यता र कानून विपरित भन्ने आएको छ । रुस र चीनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
८. सुलेमानीको अन्त्येष्टीमा उर्लेको मानव महासागरले अमेरिकी आरोपको खारेज – अमेरिकाले कुनै पनि शक्तिलाई सिध्याउनु छ भने आतंकवादीको आरोप लगाए पुग्छ । सुलेमानीलाई पनि त्यही आरोपमा हत्या गरियो त्यो पनि इराकी भूमिमा ड्रोन हमला गरी । वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो आरोप केवल सैन्य उन्माद मात्र थियो । उता अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघलाई जानकारी गराउँदै आत्मरक्षाको लागि सुलेमानीको हत्या गरिएको भनेको छ भने इरानले पनि आत्मरक्षाका लागि अमेरिकी सैन्य क्याम्पमा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । इरानका सर्वोच्च नेताले सुलेमानीको अन्त्यष्टीमा उपस्थित मानव सागरलाई लक्षित गर्दै भनेका थिए – अमेरिकी राष्ट्रपति ट्रम्पले यति मानवसागर सपनामा पनि देख्ने छैनन् । वास्तवमै मध्यपूर्वमा अमेरिकी आक्रमण तिरस्कृत बनेको छ । आम मानव सागर अमेरिकी ज्यादतिको प्रतिरोधमा उत्रेको छ र सुलेमानीमाथि सम्मान र श्रद्धा व्यक्त गरेको छ । यसबाट अमेरिकाको आरोप खारेज भएको छ ।
९. अमेरिकाकै कारण पु“जीवाद चरम संकटमा – कतिपय विश्लेषकहरुले भन्न लागेका छन् कि वास्तवमै अमेरिकी गलत नीति र रवैयाका कारण विश्वमा पुँजीवाद संकटमा फस्दै गएको छ । न त अमेरिकाले अन्तर्राष्ट्रिय नियम, कानूनलाई पालना गर्दछ, न त संयुक्त राष्ट्र संघलाई स्वतन्त्र, निष्पक्ष र शक्तिशाली बनाउन चाहन्छ । न त अमेरिकाले अरु देशको सार्वभौमिकतालाई स्वीकार गर्छ न त लोकतन्त्र र मानवअधिरकारको सम्मान गर्छ ।
भेनेजुयलामा निर्वाचित र वैधानिक सरकारका विरुद्व त्यहाँ विरोधी पार्टीलाई उस्काएको छ । भर्खरै इराकको भूमिमा नाङ्गो ढंगले इरानी सैन्य जनरलको हत्या गरेको छ । सिरियामा त्यहाँको सरकारका विरुद्ध विद्रोहीहरुलाई सहयोग गरिरहेको छ । इराक, अफगानिस्तान लगायतका देशहरुमा उसको युद्ध र आक्रमण देखिएकै हो । जहाँ अमेरिकाले हस्तक्षेप गरेको छ, त्यहाँ गृहयुद्ध र अशान्ति मात्र छाएको छ । अमेरिकाको साम्राज्य र प्रभुत्वलाई जबरजस्त समर्थन गर्ने राष्ट्रमा बेलायत, क्यानडा तथा युरोपियन युनियनका देशहरु छन् । पछिल्लो समय युरोपियन युनियनभित्र विस्तारै अमेरिका विरोधी भावनाको विकास हुँदै गएको छ । एकातर्फ अमेरिकी नीति साम्राज्यवादी, युद्धवादी र हस्तक्षेपकारी छ भने अर्कोतिर डोनाल्ड ट्रम्पजस्ता अतिवादी अनि असन्तुलित व्यक्ति राष्ट्रपति बन्ने लहर चलेको छ ।
१०. अमेरिकालाई प्रतिरोध गर्ने शक्तिहरुको विकास – पछिल्लो समय अमेरिकासँग प्रतिरोध गर्ने वा टक्कर दिने राष्ट्र र शक्तिहरको विकास हुँदैछ । उत्तर कोरिया एउटा राम्रो उदाहरण बनेको छ । सबैलाई थाह छ, अमेरिका सुपर पावर हुनुको पछाडि मूलतः सैन्यशक्ति वा हतियारहरुमा भएको विकास हो । अलिकति रिस उठ्यो कि हवाई हमला गरी पुरै देशै ध्वस्त बनाउने र दलाल सत्ता निर्माण गर्ने रणनीतिले पुरै विश्वलाई आक्रान्त पारेकै छ । उत्तर कोरियाले विकास गरेको क्षेप्यास्त्र परीक्षण र उच्च सैन्य क्षमताका कारण अमेरिका वार्ता गर्न विवश बनेको छ । उता मध्यपूर्वमा इरान त्यस्तै उदाउँदो शक्तिका रुपमा विकसित हुँदैछ । युद्ध भएमा अमेरिका पनि आक्रमणको निशाना वा रणभूमिमा परिणत हुन्छ भन्ने कुरामा कुनै विवाद छैन । अब विस्तारै अमेरिकी हस्तक्षेपहरुलाई अस्विकार गर्ने वा आक्रमण भएमा पनि प्रत्याक्रमण गर्न सक्ने राष्ट्रहरु बनिसकेका छन् । त्यसकारण अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गर्न आवश्यक छ ।
११. साम्राज्यवादी र युद्धवादी नीति नत्यागे अमेरिका खरानी हुन्छ – अमेरिकी हस्तक्षेप, आक्रमण र हमलाबाट धेरै विश्व प्रताडित बनेको छ । दोश्रो विश्वयुद्धदेखिको उप्रतिको आक्रोश र प्रतिशोध कायमै छ । पछिल्लो समय खासगरी कम्युनिष्ट र मुस्लिम समुदायप्रतिको उसको ज्यादति राक्षसी प्रवृत्तिको छ । कम्युनिष्टको त नाम नै सुन्न नहुने उसको प्रवृत्ति घातक छ । मन नपर्नासाथ हत्या, आक्रमण वा हवाई हमलामा जाने उसको रणनीतिलाई आजको मानव जातीले स्वीकार्न सक्दैन । अतः उसले जति पनि युद्ध, हत्या र हमलाको अभ्यास गरेको छ, त्यही निरन्तरतामा अगाडि बढे अब उ खरानी हुनेछ ।
अहिलेसम्म आर्थिक वा व्यापारिक दृष्टिकोणले चीन र रसियाले सशक्त प्रतिकार नगरे पनि उत्तरकोरिया, इरानजस्ता देशहरु अगाडि बढिसकेका छन् । यदि साँच्चै विश्वयुद्ध नै हुने स्थिति आएमा चीन र रसिया पनि आक्रामक मोर्चामा आउन बाध्य हुन्छन् । शायद त्यस्तो कहाली लाग्दो अवस्थाबाट मुक्ति पाउन अमेरिकाले आफ्नो युद्ध उन्मादलाई त्याग्दै साम्राज्यवादी नीतिलाई अन्त्य गर्नु जरुरी छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>