सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिने

२०७५ आश्विन २२ गते, सोमबार

काठमाडौं, २२ असोज । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट (बिओपी) राख्ने तयारी भएको हो । इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क्याम्प बस्ने भएको हो । गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण इलामले सीमा सुरक्षाका लागि पोष्ट खडा गर्ने भएको हो । सरकारी नीतिअनुसार जिल्लाका ४ स्थानमा बोर्डर अब्जरवेशन पोष्ट रहने छन् ।
यसैगरी पाँचथरको प्राङ्वुङ, चिवाभञ्ज्याङ र ताप्लेजुङको ओलाङचुङगोलामा पनि पोष्ट स्थापना गरिने बताइएको छ । भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको र सीमा पिल्लर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने तथा सीमा क्षेत्रमा अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासो गर्दै आएका थिए । पोष्ट राखेपछि सीमा सुरक्षालगायत शान्ति सुरक्षामा उल्लेख्य सुधार हुने गणका सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले जानकारी दिए । दसैं अघि नै त्यहाँ पोष्ट खडा भइसक्ने सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु