साम्राज्यवादविरुद्ध आत्मसमर्पणवाद –विष्णु पन्त


१. भारतीय साम्राज्यवाद

भारतीय सत्ताको साम्राज्यवादी नीति पूरै दक्षिण एशियाका लागि खतराको विषय वनेको छ । छिमेकी साना र कमजोर राष्ट्रका अगाडि भारतको दादागिरी र हेपाहा प्रवृति खतरनाक ढंगले अगाडि वढेको छ । महान् भारतका नाममा साना देशका भूगोलहरु माथि अतिक्रमण गर्ने उसको अभियान निरन्तर चलिरहेको छ । नेपाल सबैभन्दा बढी पीडामा छ । वीर गोर्खालीहरुले भारतको रक्षाको लागि अनि उसको स्वतन्त्रताको लागि लडिदिएको गुनको बदलामा उ पटक–पटक हाम्रा सीमास्तम्भहरु भत्काउने र एकलौटी रुपमा नयाँ स्तम्भ बनाउने काम गरिरहेको छ । भारतीय हस्तक्षेपका शिकार हुन हामी विवश छौँ । एकातर्फ विभिन्न सन्धि सम्झौताको माध्यमवाट हाम्रा नदीनालाहरुमाथि एकलौटी नियन्त्रण गर्न खोजी रहेको छ भने अर्कोतर्फ राजनीतिक हस्तक्षेपको माध्यमबाट पूरै सत्ता संरचनामाथि नियन्त्रण गरिरहेको छ ।
महाकाली सन्धि, टनकपुर, कोशी, गण्डकी सम्झौताहरुले नेपालको अस्मितालाई जबर्जस्ती लुट्ने काम गरिरहेको छ । भारतद्वारा गरिएका पटक–पटकका नाकाबन्दीको सामना हामीले व्यहोरिसकेका छौँ । हाम्रो राष्ट्रवादी नेताहरु जस्तै– मदन भण्डारी र जीवराज आश्रितको हत्या, राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरवार हत्याकाण्डमा भारतीय गुप्तचर संस्थाहरुको संलग्नता भएको आधारहरु देखिएकै हुन् । नेपालभित्र भारतीय सेना र प्रहरीको नाङ्गो हस्तक्षेप र दादागिरीलाई पटकौँ पटक अनुभूति गरिरहेकै छौँ । अतः भारतीय सत्ताले साम्राज्यवादी नीति नत्याग्दासम्म उ असल छिमेकी वा असल मित्र हुन सक्दैन । उ हामीलाई सिक्किम बनाउन चाहन्छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।
२. भारतको नया नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा
भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारत भित्रै गाभिएको छ । वास्तवमा भारतको यो कदम नेपालको सार्वभौम सत्तामाथिको नाङ्गो हस्तक्षेप र अतिक्रमणको पराकास्ठा हो । भारतको यो पछिल्लो कदमले फेरि एक पटक नेपाली जनतालाई आक्रोशित बनाएको छ । आमनेपाली मनलाई उद्वेलित बनाएको छ । हुन त हाम्रा थुप्रै गाउँहरु राती सुत्दा नेपाली छन् बिहान उठ्दा भारतीय बनाइएका छन् । हाम्रा गाउँहरुलाई नै रातारात निलिएका इतिहास साक्षी छन् । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म नै हाम्रो भूगोल भारतसँग जोडिएको छ । उसले चारैतिरबाट सीमा मिच्ने सीमा स्तम्भहरु सार्ने काम निरन्तर गरिरहेको छ । जब भारतले नयाँ राजनीतिक नक्सा प्रकाशित गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतभित्रै समावेश ग¥यो तब नेपाल भित्र त्यसको विरोध भएपछि आएको भारतको प्रतिक्रियाले जनतालाई झनै आक्रोशित बनाएको छ । भारतले आफ्नो गल्ती स्वीकारेको छैन र आफ्नो नक्साबाट नेपालको सीमा नमिचिएको भनेको छ । यो निश्चित छ कि मैले तिम्रो सीमा मिचेको हुँ भनेर भारतले भन्नेवाला पनि छैन ।
३. साम्राज्यवादविरुद्ध आत्मसर्मपणवाद
हाम्रो बिडम्वना केहो भने हाम्रो भौगोलिक अवस्थितिले हाम्रो स्वाधीनताका लागि साम्राज्यवाद वा विस्तारवादसँग लड्नुपर्छ । भारतीय सत्ताको साम्राज्यवादी नीतिसँग लडेर वा संघर्ष गरेर मात्र हाम्रो स्वाधीनता जोगिन सक्छ । तर, बिडम्वना हाम्रो सत्ता सधैँ आत्मसमर्पणवादी छ । हाम्रा शासकहरुको आत्मसमर्पणवादी नीतिकै कारण इतिहासमा हामीले धेरै नेपाली भूभाग गुमाएका छौँ । पूर्वमा टिस्टा पुगेथ्यौँ पश्चिममा किल्ला काँगडा भन्ने गीतले नै हाम्रो गुमेको भूगोललाई प्रस्ट पार्दछ । हामीले जति पनि भूगोल गुमाएका छौँ, त्यो सबै हाम्रो आत्मसर्मपणवादी शासकहरुका कारण गुमाएका छौँ । अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुने बेला अंग्रेजले फिर्ता गरेका नेपाली भूमि फिर्ता लिने हिम्मत पनि नगर्ने शासकहरुका कारण नेपालको भूगोल मेची र महाकालीमा सीमित भएको तथ्य स्पष्ट नै छ ।
हाम्रो सीमा मिचिँदा चुँसम्म बोल्न नसक्ने हाम्रो राज्यसत्ता नै राष्ट्रको हितमा छैन । भारतलाई चिढ्याएर हाम्रो बेग्लै अस्तित्व छैन भन्ने मनोविज्ञानले हामीलाई सधैँ मिचिरहेको छ । हाम्रा पुर्खाहरुले वीरतापूर्ण लडेर रक्षा गरेको हाम्रो भूगोललाई खुम्चाउँदै खुम्चाउँदै हाम्रा शासकहरुले हामीलाई राष्ट्रियताको पाठ पढाएकै छन् । हाम्रो राष्ट्रलाई युगौँयुगसम्म स्वतन्त्र र स्वाधीन बनाउने हो भने एक पटक राष्ट्रिय मुक्तियुद्ध गर्नुको विकल्प हामीसँग छैन । सत्ता जोगाउन वा सत्तामा पुग्न दिल्ली चाहने, सचिव र इन्स्पेक्टरको सरुवा बढुवा गर्दा भारतीय दूतावासमा बिन्तीभाउ गर्ने आत्मसमर्पणवादी नेताहरु सत्तामा भएसम्म हाम्रो राष्ट्रियताको रक्षा हुन सक्दैन । आज खुम्चिएको मेचीदेखी महाकाली भित्रको सोमामायी पनि पटक–पटक भारतबाट अतिक्रमण भइरहेकै छ । सन् १८१६ को सुगौली सन्धिले किटान गरेको नेपाली भूमि कालापानी लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाभेपछि अब भारत वैधानिक र घोषित रुपमा नै सीमा अतिक्रमणको मिसनमा अडिग भएको छ ।
४. नेपाल उत्तरकोरिया बनेर उभिनु पर्छ
नेपालको स्वाधीनतालाई बचाइराख्ने हो भने नेपालले सैन्य हिसावले आपूmलाई उत्तरकोरिया बनाउनु पर्छ । हामीले बद्लिदो विश्वपरिवेशअनुसारको सैन्य विकासमा जोड दिनु पर्दछ । सैन्य विकास गर्न सकेनाँै भने हामी आफ्नो अस्तित्वलाई वचाउन सक्तैनौँ । हामीले भारत, चीन वा पाकिस्तानको हाराहारीमा सैन्य शक्तिको विकास गर्ने राष्ट्रिय नीतिको विकास गर्नु पर्छ । कुनै देशका विरुद्ध होइन, तर आफ्नै सुरक्षाका लागि वा राष्ट्रिय स्वाधीनताका लागि हामीले आफ्नो नयाँ राजनीतिको विकास गर्नु अपरिहार्य छ । विदेशीहरुका सामु भीख मागेर खाने, विदेशीहरुको गुलाम वनेर उनीहरुलाई रिझाएर खाने सत्ताधरीपत्रलाई ध्वस्त वनाउदै नयाँ राष्ट्रिय सत्ताको निर्माण गर्नेतर्फ सवैले वेलैमा सोच्नु पर्छ ।
५. राष्ट्रियता जोगाउने एउटै विकल्प
आर्थिक र सैन्य विकासमा नेपालले आफ्नो स्वाधिनता जोगाउनका लागि हाम्रा छिमेकीहरु चीन, भारत र पाकिस्तानको सापेक्षतामा सैन्य विकास गर्नुपदर्छ । आर्थिक विकासका हिसाबले स्वीजरल्याण्ड र सिङ्गापुर बन्न सक्नुपर्छ भने सैन्य हिसाबले उत्तर कोरिया बन्नुपर्छ । नेपाल रहे मात्र हामी रहन्छौं । देशै नरहे न पार्टीहरु रहन्छन् न त सरकार । अब हामीले बेलैमा सोच्नुपर्छ र एकताबद्ध हुनुपर्छ । हाम्रो तीतो र नमिठो इतिहास बोल्छ– नेपालमा जनता राष्ट्रवादी छन् तर शासकहरु आत्मसमर्पणवादी । जनताले बलिदान गर्छन् शासकहरुले गद्दार । अब यो बिडम्बनाको अन्त्य गर्नैपर्छ । हामीले विदेशीहरुलाई नेपालमा ल्याएर भीख मागेर स्वाधीनताको रक्षा हुन सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ल्याएर संसद वैठकमा सम्बोधन गराएर बुद्ध नेपालमा जन्मेका हुन् भनेर भन्न लगाउँदैमा स्वाधीनताको रक्षा हुँदैन । अमेरिका, युरोपियन युनियन, चीन वा भारतका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भ्रमणका लागि ल्याउँदैमा नेपालको स्वाधीनताको रक्षा हुँदैन । यो सत्य हो कि नेपाललाई वैदेशीक क्रीडास्थल बनाएर वा नेपाली भूमिलाई विदेशीहरुको रणमैदान बनाएर नेपालको हित हुनेवाला छैन । यस्तो शासकहरुको चेतनाले नेपाल विश्वमान चित्रमा कमजोर बन्दै गइरहेको दृष्टान्तलाई हामीले बदल्नेपर्छ ।
६. हाम्रो परराष्ट्र नीतिमा पुनर्विचार गर्नुपर्छ
हामीले सधैँ दुई ढुङ्गाबीचको तरुल भनेर हाम्रो राष्ट्रिय मनोविज्ञानलाई कमजोर बनायौं । कसैले चीन र भारतबीचको पुल बन्नुपर्छ पनि भनिरहेका छन् । यो भनाईले पनि केवल व्यापारिक दृष्टिकोणलाई मात्र सम्बोधन गरेको छ । आजको विश्वमा हामी बलियो बन्यौं भने भारत र चीनलाई पनि साइजमा ल्याउँदै एउटा नवउदयीमान शक्तिको रुपमा उभ्याउन सक्ने सम्भावनाको ढोका खुल्न सक्छ । संसारभरका साम्राज्यवादीको हस्तक्षेप र हैकमका विरुद्ध हामीले एउटा न्यायपूर्ण हस्तक्षेप गर्ने वा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । तसर्थ, हामीले हाम्रो एउटै मात्र देशसँगको परनिर्भरतालाई हटाउनु पर्छ । स्वतन्त्रता र समानताका आधार सबैसँग सम्मानजनक र मित्रतापूर्ण सम्बन्धको विकास गर्नेतर्फ सोच्नुपर्छ । मूलतः हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर हाम्रो परराष्ट्रसम्बन्धीको विकास गर्नुपर्छ । अनावश्यक वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने राष्ट्रिय प्रतिबद्धताको आवश्यक भएको छ । कुनै पनि प्रकारको हस्तक्षेपबाट होइन कि पारस्परिक सम्बन्ध सहअस्तित्व र मित्रराष्ट्रका आधारमा परराष्ट्र सम्बन्धलाई पुनर्परिभाषित गर्न जरुरी देखिन्छ ।
७. राष्ट्रिय सहमतिको पहल भएन
लिपुलेक, कालापानी हुँदै लिम्पियाधुरासम्को करिब ३७२ वर्ग किमी क्षेत्रफल भारतमा गाभिएको नक्सा आएको छ र नेपालको सार्वभौमसत्तामाथि गम्भीर थ्रेट उत्पन्न भएको छ । यस्तो गम्भीर अवस्थामा सरकार भने परराष्ट्र मन्त्रालयको बेनामे व्यक्तव्य त्यो पनि काइते शब्दमा जारी गरेर मौन बसेको छ । के बेनामे व्यक्तव्य निकाल्दैमा सरकारको भूमिका पूरा भयो त ? भारतीय एकजना नेताले चुनौति दिइसके, “नेपालले पनि आफ्नो दाबीसहितको नक्सा जारी गरे हुन्छ ।” जनताहरु सडकमा उत्रिएका छन् तर सरकार रमिते छ । यो पनि सरकार ढाल्ने वा टिकाउने गोटीका लागि चालिएको करारनामासहितको षड्यन्त्र नहोस् । देशमा यत्रो गम्भीर संकट आइसकेको छ, तर शासकहरुमा कुनै गम्भीरता देखिएन ।
८. सेना र प्रहरीको काम सत्ताको दाबेदारी मात्र
भ्रष्टाचारले हाम्रो राज्यलाई नै विघटनको दिशातर्फ लैजाँदै छ । आज सत्तामा जानु वा सरकारमा जानु भ्रष्टाचारमा डुबी कालो धन थुपार्नका लागि मात्र हो भन्ने आमसंस्कार बनेको छ । सरकारको काम राष्ट्रवादी, प्रगतिशील, क्रान्तिकारी र सच्चा लोकतन्त्रवादीहरुलाई दमन गर्नु मात्र हो भन्ने प्रवृत्ति हाबी भएको छ । आज गणतन्त्र, लोकतन्त्र भनिएको छ तर राष्ट्रवादी शक्तिमाथि प्रतिबन्ध लगाइएको छ । प्रहरी त भ्रष्ट संरचनाको मुख्य रक्षाकवच बनेर सिद्धिएकै छ । सेनालाई पनि बद्लिँदो विश्वपरिस्थितिअनुसार सुदृढ गर्नुको सट्टा केवल आन्तरिक द्वन्द्वमा मात्र सीमित गर्ने काम हुँदैछ ।
नेपाली सेनालाई राष्ट्रिय सेना बनाउन सक्नुपर्दथ्यो । पाकिस्तान, भारत वा चीनमा जस्तै नेपाली सेनाले आफ्नो राष्ट्रियता जोगाउनका लागि पहलकद्मी लिने आँट गरोस् भन्ने नेपालीहरुको चाहना थियो । हाम्रो सेनालाई केवल द्वन्द्वग्रस्त क्षेत्रमा शान्तिसेनाको रुपमा मात्र खटाउने कि हाम्रो सीमा सुरक्षा र राष्ट्रियताको जर्गेना गर्नका लागि पनि सबल बनाउने भन्ने प्रश्न उब्जिएको छ । सबै कुराको निर्धारण राज्यसत्ताले गर्दोरहेछ ।
९. निष्कर्ष
वर्तमान विश्व बहुध्रुवमा विभक्त हुने क्रम जारी छ । वर्तमान विश्व रंगमञ्चमा नयाँ–नयाँ देशहरुले पनि आपूmलाई शक्तिराष्ट्रका रुपमा उभ्याउने कसरत गरिरहेका छन् । उत्तर कोरिया, भारतजस्ता देशहरु नयाँ रंगमञ्चमा देखा पर्दैछन् । भारत र चीनको बीचमा पनि कतै मित्रता त कतै संघर्ष छ । भारतले साम्राज्यवादी नीति अंगीकार गर्दैछ । विशाल भारतका नाममा दक्षिण एशियामा उसको साम्राज्य फैलाउन चाहन्छ । भरत दाहालले भने जस्तै यदि चीनसँग मात्र हामी नजोडिएको भए नेपाल उहिल्यै भारतमा गाभिनो थियो । नेपाली जनतामा भएको राष्ट्रवादी चेतनाका कारण पनि हाम्रो अस्तित्व रहेको हो । आजको विश्वमानचीत्रमा स्वाधीन राष्ट्र बनेर उभिनका लागि दुईवटा मुख्य आधारहरु छन् – पहिलो हो आर्थिक विकास वा अर्थतन्त्र र दोस्रो हो सैन्य विकास वा सैन्य शक्ति । यी दुई आधारहरु नभएका देशहरु कुनै पनि बेला विघटित हुने खतरा रहन्छ । अरु कुनै शक्तिराष्ट्रले मेरो राष्ट्रको संरक्षण गरिदेला भनेर बस्नु केवल काल निम्त्याउनु मात्र हो । नेपालको इतिहासलाई हे-यौँ भने हाम्रा पुर्खाहरुले वीरतापूर्वक लडेर देशको रक्षा र विस्तार गरे । आज हाम्रा वीर गोर्खालीहरु भारतीय, ब्रिटिश, सिङ्गापुर सेनामा गएर विदेशी भूमिका लागि समेत लडिरहेका छन् । हाम्रो यो गुनको बदला हामीले भने भारतबाट बारम्बार हस्तक्षेप, अतिक्रमण र नाकाबन्दी मात्र उपहार पाएका छौँ । कुरा स्पष्ट छ, भारतीय साम्राज्यवाद एकातर्फ हाम्रा सिमाबाट अतिक्रमण गरी गरी खुम्च्याउन चाहन्छ भने अर्कोतर्फ मधेश हुँदै पूरै नेपाललाई आपूmमा विलय गराउने वा आफ्नो मुठीमा राख्न चाहन्छ । उसको यो साम्राज्यवादी नीति घट्दो अवस्थामा छैन र बढ्दो अवस्थामा छ । अतः यसको सामनता एउटा बृहतर एकताबद्ध राष्ट्रिय जागरणबाट मात्र सम्भव हुन्छ । जालझेल र भ्रमबाट यसको समाधान छैन ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>