सामुहिक आत्महत्या – २०७४ – बलराम तिमल्सिना

२०७५ असार २२ गते, शुक्रबार

संभवत: धेरै पहिलेदेखि हुनुपर्छ
उसले आत्महत्या वारे सोचेको
जित्न नसक्ने देखेपछि मृत्यु
वाँच्न नसकेपछि वाँचे जसरी
उसले आत्महत्या गरेर “वाँच्ने” सोच्यो !

उसले आत्महत्या मात्र सोचेन
एति ठूलो नाम चलेको मानिस
कसरी चुपचाप एक्लै मर्ने
एउटा उत्सवको आयोजना त गर्नै पर्छ
आत्महत्या पनि आन्दोलन नै होस
उसले यस्तो पनि सोच्यो
उत्सवमा वदल्नको लागि चाहिन्थ्यो
आफ्नो सिङ्गै सम्प्रदायको स्वीकृति
त्यो स्वीकृति नपाउन्जेल ऊ
छटपटाइरह्यो निरन्तर !

विस्तारै विस्तारै
नाडी छाम्दै सम्प्रदायको
ऊ पुग्यो प्रतिक्षित निष्कर्षमा
अव सामुहिक आत्महत्या स्विकृत हुने भयो !

जसरी सामुहिक निष्कर्षमा पुगेका थिए
हजारौं मानिसहरू जीवनका लागि
त्यस्तै मृत्यु उत्सवको पटाक्षेप भयो
इतिहास उल्टियो
घडीको सुई देव्रेतिर घुम्यो
झुल्केको घाम
पूर्वकै क्षितिजमा खस्यो
र खस्यो धरतीमा अँध्यारो !

सामुहिक आत्महत्याको तयारी त भयो
तर आकर्षक उत्सवको खाँचो पर्यो
र भेटियो त्यो उत्सव पनि झट्टै
वाम एकताको सुन्दर व्यानरमुनि
जम्मा भए आत्महत्याराहरू
गाए मृत्युको कर्कस गीत
र हामफाले विशाक्त पोखरीमा !

जव सुरु भयो आत्महत्याको श्रृङ्खला
ठूलो भिडभाड भयो त्यहाँ
आत्महत्याको अग्र पंक्तिमा
आफ्नो नाम नपरेकोमा
खुवै धकी धकी रोए ती
जो हिजो त्यसै गरी रोएका थिए
एशल्ट ग्रुपबाट नाम हटेर
रिजर्व ग्रुपमा पर्दाको समय !

समयले यसरी नाटक गर्यो
एउटा भयानक त्रासदी पछि
अर्को भयानक प्रहसनमा पुगेर
अन्त्य भयो नाटकको
नाटकको शीर्षक थियो
‘सामुहिक आत्महत्या-२०७४ !’

प्रतिक्रियाहरु