साइबर हमलाबारे रुसमाथि पश्चिमी मुलुकको अनेक आरोप

२०७५ आश्विन १९ गते, शुक्रबार

काठमाडौं, १९ असोज । पश्चिमा देशहरुले रुसको सैन्य गुप्तचर विभागले विश्वभर कयौं साइबर हमला गरेको आरोप लगाएका छन् । अमेरिका, बेलायत, नेदरल्यान्ड्स, क्यानडालगायतका देशले रुसले कयौं महत्वपूर्ण संस्थाहरुमा साइबर हमला गराएको आरोप लगाएका छन् । अमेरिकाले रुसी निशानामा फिफा, वर्ल्ड एन्टी–डोपिङ एजेन्सी र एक परमाणु कम्पनी परेको दावी गरेको छ ।
नेदरल्यान्डसले चार रुसी नागरिकमाथि नर्व एजेन्ट हमलामा जाँच गरिरहेको अर्गनाइजेसन फोर द प्रोहिविसन अफ केमिकल वेपन्समा ह्याकिङ्को षड्यन्त्र भएको आरोप लगाएको छ । त्यस्तै मलेसियाको ‘एमएच १७’ विमानसँग सम्बन्धित अनुसन्धान प्रभावित गर्नसमेत साइबर हमला भएको आरोप उसले लगाएको छ । उक्त विमान सन् २०१४ मा युक्रेनमा रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा खसालिएको थियो, जसमा विमानमा सवार २९८ जनाको मृत्यु भएको थियो । उता बेलायतले चार ठूला साइबर हमलामा रुसी गुप्तचर एजेन्सीको हात भएको आरोप लगाएको छ ।
त्यसैगरी क्यानडाले रुसी गुप्तचर एजेन्सीको निशानामा सेन्टर फर एथिक्स इन स्पोर्ट्स र वल्र्ड एन्टी डोपिङ एजेन्सी परेको दावी गरेको छ ।रुसी सरकारले भने पश्चिमा देशहरुले लगाएको सम्पूर्ण आरोपलाई अस्विकार गरेको छ । रुसले एक वक्तब्य जारी गर्दै आफूहरुविरुद्ध योजनावद्ध तरिकाले दुष्प्रचार गरिएको बताएको छ । मोवाइल बोक्ने कुनै पनि रुसी नागरिकलाई जासूस भन्न थालिएको उसको भनाइ छ । – एजेन्सी

प्रतिक्रियाहरु