सांसदलाई ल्यापटप : साढे तीन करोड खर्च गरिँदै

२०७६ जेष्ठ २९ गते, बुधबार

काठमाडौं, २९ जेठ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप वितरण गर्ने निर्णयको विरोध हुन थालेको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीमबहादुर रावलले सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् भनेर खबरदारी गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् । ल्यापटप चलाउन चाहनेले स्वयं व्यवस्था गर्नु उचित हुन्छ । त्यस्तो गर्न सांसदले सक्छन् ।’ रावल अछाम–१ बाट निर्वाचित सांसद हुन् ।

यसैगरी , नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पनि सांसदलाई ल्यापटप बाँड्ने योजनाको विरोध गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रा माननीयज्यूहरुलाई ६ करोडले पुगेन, अब ३३४ ल्यापटप । अनि एक घर एक पजेरो, घरमा एक सहयोगी र सिंहदरवारमा दिउँसो एक आराम कक्ष थकान मार्न सरकारले व्यवस्थापन गरोस्, देशमा समृद्धि आउनेछ, गरिबी अन्त्य हुनेछ । अनि गाउँगाउँमा जनता सम्पन्न हुनेछन् ।’ कांग्रेस नेता खतिवडा ओखलढुंगाबाट पराजित भएका थिए । उनलाई वाम गठबन्धनका यज्ञराज सुनुवारले ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । ट्वीटरमा सर्वसाधारणले पनि सांसदलाई ल्यापटप उपलब्ध गराउन राज्यकोषको रकम खर्च गर्न लागिएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु