सहिद र काठमान्डु – खेम थपलिया

२०७४ श्रावण १५ गते, आईतवार

अलिकति आशा र अलिकति मुस्कान
अलिकति बालवयका यादहरूले
सुन्दर देश, सुन्दरताकै अभिलासा सजाएर
खाडीका भतभती पोल्ने बालुवाजस्तै मन
सिंहदरबारका गायब पारिएका विकासे बजेटलाई
बाध्यता र विवशताका बटुकामा सँगालेर
असीमित आकाङ्क्षा र जिजीविषाका साथ पर्खिरेहछन्
काठमान्डुको सडकपेटीमा एकजना सहिद ।
सडकमा यात्रीहरू आइरहेछ्न र गइरहेछन्
स्वेदशी विदेशी नबुझिने आकृतिहरू तँछाड मछाड गरिरहेछन्
कोही आधुनिक काठमाण्डुको नशा पिइरहेछन्
कोही गन्धापुरी धुलोमाण्डुको दुर्दशाका साथ जिइरहेछन्
जीर्ण तन जस्तै जीर्ण मनलाई
अव्यवस्थाको तातो न तातो भुङ्ग्रोभित्र
लामो सुस्केराका साथ अवर्णनीय पीडाहरू ओकल्दै
काठमान्डुको सडकपेटीमा कुरिरहेछ
देशको लागि बलिदान गरेको एकजना सहिद ।
प्रत्येक दिन काठमाण्डुमा पाकिरहेछ सहिदको सपना
कोही निर्लज्ज फ्राई गरिरहेछन्
कोही कवाफ बनाइरहेछन्
कोही ह्विस्कीको चटनीमा मस्त छन्
कोही अट्टहासका साथ उडाइरहेछ सहिदका सपना
कोहीका शब्दकोशबाट गायब छन् सहिद
कोही त्यही सपना बाँडिरहेछन्
कतिले सहिदलाई चिलगाडी बनाइसके
कतिले चिल्लाकार बनाएका छन्
कतिले सुट–टाईमा साटिसके सहिदलाई
कतिले आलिसान महल ठड्याएका छन्
कतिले शालिक अनावरण र प्रतिष्ठानमा प्रीतिभोग गरिरहेछन्
मानौं उनीहरू अन्तिम विजयभोजमा व्यस्त छन्
देशको लागि मरेको सहिद
काठमान्डुको सडकपेटीमा बसेर यी सबै टुलुटुल हेर्न बाध्य छ
मेरो देशको एक महान् सहिद ।
वस्तीमा रगतका टाटा अझै आलै छन्
खुसी खोसिएका कोशीका अशान्त छालहरू
बगेको बग्यै छन्
उन्मुक्तिका बेचैन गण्डकी लहरहरू
आज पनि उस्तै गरी छङछङ गरिरहेकै छन्
स्वार्थ–लम्पटले बाराम्बार डसिरहने कर्णालीको वेग
अझ पनि रोकिने छाँट छैन
पुग्न खोजेको त सगरमाथा नै हो
देख्न खोजेको त संसार नै हो
छिनछिनमै देखियो हिन्दमहासागरको बाटो देखाउने त्यो मानिस
तर आफ्नो सपना र भविष्यको बाटो देखाउने मानिस अझै आइपुगेन
चिप्लो बाटोमा बाबाले दिनुभएको स्नेही हात
बिरामी पर्दा आमाले दिनुभएको वात्सल्यता
अग्रजले देखाउनुभएको सुन्दर बाटो
सङ्गीले दिएको बलियो काँध
काठमान्डुको सडकपेटीमा आफ्नो अतीतका पाना पल्टाइरहेछन्
मेरो महान् देशको एक महान् सहिद ।
उफ् ! आजभोलि काठमान्डु हिलाम्मै र टुकुचामय भएको छ
सडकहरू खाल्टाखुल्टीले भरिएका छन्
मानौं काठमान्डु खाल्टाहरूको पनि संग्रहालय हो
तर पनि मानिसहरू अटेम मटेस गर्दै दौडिरहेछन्
उनीहरूलाई केहीछिन पनि फुर्सद छैन आजभोलि
केवल उनीहरूलाई हिन्द–महासागर पुग्नु छ
स्मार्टसिटीको गुड्डी हाँक्ने काठमान्डुको सडकपेटीमा
त्यस्तो एकजना मानिस कुरिबसेका छन् ती सहिद
जसले उनीजस्ता हजारौँ सहिदका सपना बोकेर
सगरमाथामा चढ्ने आँट गरोस् ।

प्रतिक्रियाहरु