सहिदहरूप्रतिको वास्तविक सम्मान यही हो त ?

२०७४ माघ १६ गते, मंगलवार

माघ १० गतेदेखि सहिद सप्ताह सुरु भएको छ । नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा सहिद सप्ताह मनाउने गरिन्छ । एकतन्त्रीय जहाँनिया राणा शासनविरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात–अज्ञात सहिदको सम्झनामा सप्ताह व्यापी रुपमा सहिद दिवश मनाउने गरिन्छ । यही माघ १६ गते विशेष कार्यक्रमका साथमा यो दिवश मनाइदैछ । यो बर्षको सहिद सप्ताहलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ ।
सहिद सप्ताहको पहिलो दिन टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली दिइएको छ । त्यस्तै, माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा गरिएको छ । यस्तै माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा पनि श्रद्धाञ्जली सभा हुनेछ भने १६ गते सहिद दिवसका दिन, बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
देशलाई स्वाधीन र जनतालाई अधिकार सम्पन्न बनाउन बलिदानी गरेका सहिदहरूप्रतिको वास्तविक सम्मान यही हो त ? राष्ट्र र जनताको मुहार फेर्न हजारौँ सहिदहरूले बलिदानी गरे तर अहिलेसम्म न राष्ट्र स्वाधीन हुन सकेको छ, न जनता नै अधिकार सम्पन्न भएका छन् । १० बर्षे जनयुद्ध र १९ दिने जनाअन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट हुने स्थितिमा पुगेका छन् । देशमा सामन्तवाद, देशी, विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीको जगजगी दिनप्रतिदिन बढी रहेको छ । शान्ति र सुव्यवस्था नारामा मात्र सीमित भएको छ । दिनहुँ अन्याय, अत्याचार, कालोबजार र भ्रष्टाचार मौलाइरहको छ । जनजीविका दिनप्रतिदिन थप कष्टकर बन्दै गइरहेको छ । देशको शासन, सुव्यवस्था कायम गर्ने राजनीतिक दल र नेताहरू गैरजिम्मेवार बन्दै गइरहेका छन् । राजनीतिक दल र नेताहरू राष्ट्र र जनताभन्दा दल र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा दत्तचित्त छन् । राजनीतिक दल र नेताहरूको यस्तो कार्यले नेपाली जनताले विश्वसामु शिर निहुराउनु पर्ने स्थिति छ र सहिदहरूको बलिदान त्यतिकै खेर गएको स्थिति छ । तसर्थ, देश र जनताको मुहार फेर्ने प्रतिबद्धताका साथ राजनीतिमा होमिएका दल र नेताहरूले एक पटक गम्भीर भएर सोच्नुपर्ने स्थिति आएको छ । आफ्नो दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको निम्ति सोच्न जरुरी छ । राष्ट्र र जनताको नाममा आफ्नो दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित हुने दल र नेतालाई सहिदहरूले पक्कै माफ गर्ने छैनन् । सहिदहरूको बलिदानको अवमूल्यन गर्नु भनेको दल र नेताहरूले आफ्नै घुँडामा बन्चरो हान्नुसरहको घात हो । तसर्थ, सहिद दिवसको अवसरमा सबै दल र नेताहरूलाई राष्ट्र र जनताप्रति बफादार हुने सद्बुद्धि पलाओस् । सहिदको सपना साकार पार्न सबै दल र नेताहरू एकजुट होऊ । यसमै देश, जनता, दल र नेताहरूको भविष्य सुन्दर हुनेछ । अन्यथा कसैको भलो हुनेछैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु