सर्वोच्च अदालतद्वारा ‘इच्छामृत्यु’ लाई वैधता

२०७४ फाल्गुन २६ गते, शनिबार

काठमाडौं, २६ फागुन । भारतको सर्वोच्च अदालतले एक ऐतिहासिक फैसलामार्फत् ‘इच्छामृत्यु’लाई वैधता दिएको छ । केही निश्चित सर्त पालना गरेको खण्डमा बिरामीलाई कृतिम ढंगले जिवित राखिरहने उपचार बन्द गरि दिन सकिने फैसला सर्वोच्चले गरेको हो ।
सर्वोच्च अदालतले स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामीले इच्छामृत्युवरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थायी प्रकृतिका रोगमा उल्लेखित कडा निर्देशिकाहरु पालना गर्दै बिरामीलाई दिइएको उपचार रोकी मृत्युवरण सहज पारिन्छ । सर्वोच्च अदालतले भनेको छ– ‘सम्मानका साथ मर्ने अधिकार मौलिक अधिकार हो ।’ अदालतको फैसलामा इच्छामृत्यु चाहने व्यक्तिले कुनै गम्भीर प्रकृतिको रोगले पीडित भएको हुनुपर्ने उल्लेख गरिएको छ । इच्छामृत्युसम्बन्धी पत्रमार्फत् पूर्वजानकारीलाई अदालतले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी कस्ता–कस्ता बिरामीले मृत्युवरण गर्न सक्छन् भन्ने चाहिँ स्पष्ट पारिएको छैन । क्यानडा, नेदरल्यान्ड, बेल्जियम, कोलम्बिया, लक्जमवर्गलगायत देश तथा अमेरिकाको क्यालिफोर्निया, वासिङ्टन, ओरेगन, मोन्टानालगायत राज्यमा इच्छामृत्युलाई काुननी मान्यता दिइएको छ । बेलायत, स्पेन, इटलीलगायत देशमा भने इच्छामृत्युको कानुनी वैधताबारे बहस जारी छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु