सर्वाधिक लामो सीधा यात्रीवाहक उडान

२०७६ कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कार्तिक । करिब १९ घन्टाको सीधा उडानपछि क्वान्टासको यात्रीवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सीधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घन्टा १६ मिनेट लागेको थियो । अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सीधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सीधा उडान गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जनामात्र यात्री थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो । क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए ।लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुईओटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ । यात्रीहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ । क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सीधा उडान सुरु गरेको थियो । यो उडान करिब १७ घन्टाको छ र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो । -रासस/एएफपी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु