सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिरोध !

२०७६ जेष्ठ ३२ गते, शनिबार

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सिन्धुली जिल्ला इन्चार्ज शशि राई र सेक्रेटरी दिनेश सारुले बिहीबार विज्ञप्ति जारी गर्दै केपी–पिके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । इन्चार्ज राई र सेक्रेटरी सारुद्वारा विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायहरुको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । यही क्रममा वर्तमान दलाल फासिवादी केपी–पिके सरकारले हाम्रो पार्टीको निद्रोष, निशस्त्र कार्यकर्तामाथि गोली प्रहार गरी हत्या गर्ने गिरफ्तार गर्ने, झुठा मुद्दा लगाई जेल हाल्ने र देश व्यापी दमन अभियान चलाई राज्य आतंक मच्चाई रहेको छ । यही क्रममा जेठ २५ गते हाम्रो पार्टी निकट युवा संगठन नेपाल सिन्धुली जिल्लाको तेस्रो जिल्ला भेला धुधौली नगरपालिका १२ दमारामा हुँदैगर्दा खेरी केपी–बादल मण्डलीको गृह प्रशासनले हठात शैलीमा प्रहरी उतारी घेरा हालेर दमन गरियो । हामीले निशस्त्र रुपमा शान्तिपूर्ण भेलामार्फत आफ्नो कार्यक्रम गरिरहँदा सयौंको संख्यामा प्रहरीले कार्यक्रम स्थलमा आई आतंक फैलाई कार्यक्रम विथोल्यो र कार्यक्रममा उपस्थित हुन आएको सामान्य हाम्रो पार्टी समर्थक जनताको पाँच वटा मोटर साइकल प्रहरीले कब्जा गरी लगेर नेपाल प्रहरीको कुरुप रुप उदाङ्गो पारेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएछ, ‘प्रहरीहरु गाउँगाउँमा पसेर जनतालाई त्रसित पारेको छ । त्यसपश्चात जिल्लाको सबै प्रहरी र केही अन्य जिल्ला गरी ३ सय भन्दामाथि फोर्स केन्द्रित गरी सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाई रहेको छ । यही क्रममा हाम्रो पार्टी समर्थक समान्य तीनपाटन गाउँपालिका वेलघारी निवासी बलबहादुर भुजेललाई आफ्नै व्यक्तिगत कामको शिलशिलामा हिडिरहेको अवस्थामा २९ गते दिउँसो गिरफ्तार गरी प्रहरी हिरासतमा यातना दिइरहेको छ । यस प्रकारको समान्य नागरिक गिरफ्तार गर्ने, जनताको सम्पत्ति लुटपात गरी कब्जा गरी लाने प्रहरी परिचालन गरी कथित सर्च एण्ड एरेष्ट अप्रेशन नरोक्ने हो भने त्यसको जवाफ हामीले दिन बाध्य हुने हुँदा उक्त परिस्थिति आउनु अवागै यस प्रकारको जनतामाथिको जनदमन रोकी समान्य जनताले आफुले काम गरेर शान्तिपूर्ण बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न केपी–बादल गृह प्रशासनलाई हामी चेतावनी दिन चाहन्छौं । अन्यथा समयमै सचेत नभए राज्यले ठूलो क्षति व्यहोर्नु पर्नेछ ।’

प्रतिक्रियाहरु