सरकार सच्चिनु जरुरी

२०७६ आश्विन १२ गते, आईतवार

रुपमा हेर्दा देशमा दुई तिहाई बहुमत प्राप्त सरकार छ । यो सरकारलाई देश र जनताले अपेक्षा गरेका कार्य रोक्ने कुनै शक्ति छैन । तर, सरकार यतिबिधि लाचार छ कि उसले देश र जनताका न्यूनतम अपेक्षासमेत पूरा गर्न सकेको छैन । सरकारले गर्नुपर्ने साना–साना काममा नजरअन्दाज र ढिलासुस्ती गर्दा जनजीवन चौपट भएको छ । जनताले अकाल ज्यान गुमाउने स्थिति छ, जसको ज्वलन्त उदाहरण काठमाडौँ उपचारका लागि आउँदै गरेका नागरिक सवारी जाममा परी ज्यान गयो । समय छउञ्जेल कानमा तेल हालेर बस्ने अनि ‘जब प¥यो राति, अनि बूढी ताती’ भन्ने उखान चरितार्थ गर्दै सडक मर्मत गर्न तम्सने सरकारी शैलीका कारण जनताले सास्ती पाएको छर्लङ्गै छ ।
यस्तै अहिले नेपालीहरुको महान् चाड बडादशैँ सुरु भएको छ । दशैँका लागि आफ्नो जन्मथलो फर्कने र मिठोमसिनो खाना र एक झुम्रो नयाँ लगाउन तम्सने जनताहरु सरकारकै रबैयाका कारण ठग, तस्कर र कालोबजारीबाट लुटिइरहेका छन् । तर, सरकार आश्वासन मात्र बाँड्छ, कार्यान्वयनमा जाँदैन । जसका कारण तस्कर, कालोबजारीले सीमा नाघेको छ । सरकार भ्रष्टाचारी, कालोबजारी र तस्करहरुबाट कति आतंकित छ भन्ने कुरा हालै मेडिकल माफियाहरुले दिएको अभिव्यक्तिबाट पुष्टि हुन्छ ।
मेडिकल माफियाहरुले आफ्नो लुटतन्त्रमा लगाम लगाउन खोजे सरकारका मन्त्रीलाई नै पदबाट हटाइदिने सार्वजनिकरुपमै घोषणा गरे । यी र यस्ता अनगिन्ती घटनाहरुले सरकार कति लाचार छ भन्ने बुझिन्छ । सरकारकै कारण देश लथालिङ्ग र भताभुङ्ग स्थितिमा पुगेको छ । देशलाई यस्तो स्थितिबाट बचाउनुपर्छ भन्दै राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयलाई लिएर संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । उसका नेता र कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँबाट गिरफ्तार गर्ने, भूmठा मुद्दामा फसाउने र जेलमा कोच्ने कार्य गर्दै आएको छ । यसबाट के पुष्टि हुन्छ सरकारकै कारण दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन गरेर प्राप्त भएको उपलब्धि गुम्दैछ र देश पुनः द्वन्द्वमा फस्दैछ । तसर्थ, सरकारले यस्ता राष्ट्रघाती र जनघाती कार्य तत्काल बन्द गरी अगाडि बढ्नुको विकल्प छैन । राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवाललाई लिएर आन्दोलनरत नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरी सहकार्य र सहमतिको राजनीति सुरु गर्दै देशका तमाम राष्ट्रिय र अन्तर्राष्ट्रिय दलाल र माफियाहरुलाई कानुनको कठघरामा उभ्याएर सुशासनतर्फ अघि बढ्नुको विकल्प छैन । अन्यथा स्थिति भयावह हुने निश्चितत छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु