‘ सरकार फासिवादको अभ्यासमा’

२०७६ जेष्ठ २९ गते, बुधबार

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले सरकार फासिवादको अभ्यासमा लागेको ठोकुवा गरेको छ । गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि भएको दमनको बिरोध गर्दै नेकपाले सो ठोकुवा गरेको हो । ने.क.पा.का प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गरी गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि बर्बर दमन भएको भन्दै घोर आपत्ति र निन्दा गरेका छन । सामाजिक दलाल सरकार एकपछि अर्को गरी जनअधिकार कुल्चिदै फासिवादको अभ्यास गरिराखेको भन्दै ने.क.पा.ले सदनमा प्रस्तुत गरिएको उक्त गुठी विधेयक पनि यसैको एउटा उदाहरण भएको विज्ञप्ति मार्फत जनाएको छ ।
प्रवक्ता प्रकाण्डले गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्नेमा पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी उक्त विवादास्पद बिधेयक सदनमा प्रस्तु गरिएको भन्दै विरोध गरेका छन ।
नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई विधेयक निर्माण गरिनु गलत रहेको पनि उनले बताए । प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ । तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिदैछ ।’
विधेयकको विरुद्धमा उठेका जनताको शान्तिपूर्ण र बैधानिक संघर्षमा भएको दमनको निन्दा गर्दै आन्दोलनमा घाइते भएकाहरुको उचित उपचारको व्यवस्थापन गर्न समेत प्रवक्ता प्रकाण्डले माग गर्नुभएको छ । साथै न्यायपूर्ण समाधानको लागि जोडदार माग समेत विज्ञप्तिमार्फत गरिएको छ ।
सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा जेठ २६ गते माईतिघरमण्डलामा भएको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गर्नुका साथै लात्ति र लाठिले समेत प्रदर्शनकारीलाई हानेको थियो । सो क्रममा सजीव बज्राचार्य र महेश कारञ्जित लगायत थुप्रै प्रदर्शनकारी घाईते भएका थिए भने कृष्ण गोपाल श्रेष्ठ, महेशमान श्रेष्ठ, अनिष वैद्य, र विकास महर्जन लगायतलाई गिरफ्तार गरेको थियो ।
उक्त प्रदर्शनमा प्रहरी हस्तक्षेपको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले गृहमन्त्रीको जवाफल माग गर्दै सोमबारको संसद बैठक नै अबरुद्ध गर्यो । हिजो बसेको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको घटनाको सरकारले नैतिक जिम्मा लिने अभिव्यक्ति समेत दिएका थिए । गुठि विधेयकको अहिले चौतर्फि विरोध भईरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु